काठमाडौं । रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण गरेकोे छ । रूसले मङ्गलबारदेखि बुधबारसम्मको २४ घण्टाको अवधिका ९४८ वटा ड्रोन आक्रमण गरेको बताएको छ।
युक्रेनको वायुसेनाले दिएको जानकारी अनुसार स्थानीय समयअनुसार मङ्गलवार बिहानको ९ बजेदेखि रूसले आक्रमण गरेको छ । त्यसमा परेर कम्तीमा तीन जना मारिएका र दर्जनौँ घाइते भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार पश्चिमी सहर लभिभको सिटी सेन्टरस्थित युनेस्को सम्पदा क्षेत्रमध्ये एक १६औँ शताब्दीमा बनेको ‘बर्नार्डिन मोनास्ट्री’ क्षतिग्रस्त भएको छ।
लभिभका अधिकारीहरूले मङ्गलवार पोस्ट गरेको एक भिडिओमा बर्नार्डिन मोनास्ट्रीनजिकै रहेको मानिसहरू बस्ने एक भवनको छानोमा आगो लागेको देखिन्छ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको फरक फुटेजमा सहरको आकाशमा भुइँबाट नजिकै ड्रोन उडेको र मानिसहरू बस्ने भवनमा ठोकिएको देखिन्छ। लभिभ क्षेत्रका प्रमुख माक्सिम कोजीत्स्कीले रुसी आक्रमणमा परेर ३२ जना घाइते भएको बताए ।
इभानो फ्रान्किभ्स्क सहरमा दुई जना मारिएका र एक छ वर्षे बच्चासहित चार जना घाइते भएका एक स्थानीय अधिकारीले बताए। क्षेत्रीय राजधानीमा एक प्रसूति अस्पतालसहित थुप्रै भवनहरूमा क्षति पुगेको बताइएको छ।
पश्चिमी युक्रेनको एक अन्य सहर टेरनोपिल पनि मङ्गलवारको आक्रमणको निसानामा परेको थियो। युक्रेनी मध्य क्षेत्रमा रहेको सहर भिनित्सियामा एक व्यक्तिको ज्यान गएको र १३ जना घाइते भएको क्षेत्रीय प्रमुख नबालिया जाबोलोत्नाले जानकारी दिए ।
राति भएको आक्रमणमा युक्रेनका ११ क्षेत्र निसानामा परेका र पाँच मानिस मारिएका बताइएको छ। युक्रेनको वायुसेनाले अधिकांश रुसी ड्रोन तथा क्षेप्यास्त्र झार्न सफलता प्राप्त गरेको बताएको छ तर देशभरका कैयौँ क्षेत्रमा प्रत्यक्ष असर परेको पनि उसले स्वीकार गरेको छ।
युक्रेनी वायुसेनाका प्रवक्ता यूरी इन्हातले बताएअनुसार मङ्गलवार राति देशको उत्तरी क्षेत्रदेखि ‘ठूलो सङ्ख्यामा ड्रोन’ युक्रेनी आकाशमा प्रवेश गरेका थिए ।
चार वर्षभन्दा लामो समयदेखि चलिरहेको युद्धले युक्रेनको हरेक कुनामा असर पारेको छ तर देशको पश्चिमी हिस्सा रुसी सीमानिकट रहेको पूर्वी हिस्साको तुलनामा कम प्रभावित छ र कम आक्रमणमा पर्ने गरेको छ।


