RE
Global College

रास्वपाको कुनै कर्मचारी संगठन छैन – रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती सेवाभित्र आफ्नो नाम जोडेर विभिन्न समूह वा अभियान सञ्चालन गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले आज एक  विज्ञप्ति जारी गर्दै पार्टीले यस्ता गतिविधिमा आफ्नो कुनै पनि प्रकारको संलग्नता, समर्थन वा आबद्धता नरहेको स्पष्ट पारेका छन् ।

निजामती प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्ने पार्टीको स्थापनाकालदेखिको स्पष्ट धारणा रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘निजामती प्रशासनभित्र गठन भएका कुनै पनि प्रकारका समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता नरहेको र कसैले हाम्रो पार्टी र नेतृत्वको नाम जोडेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजेको भए त्यस्ता भ्रममा नपर्न हामी आम कर्मचारी र सरोकारवालाहरूमा हार्दिक अपिल गर्दछौँ।’

कुनै पनि राजनीतिक दलको ओत लाग्ने वा शक्ति केन्द्रको नाममा प्रशासनिक संयन्त्रलाई प्रभाव पार्ने कार्य पार्टीको नीतिको विपरीत हुने विज्ञप्तिमा उल्लेख छ। अहिले पनि निजामती सेवालाई मेरिटोक्रेसीका आधारमा चलाउनुपर्ने र कर्मचारीहरू केवल राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्ने पक्षमा दृढ रहेको बताए।

विज्ञप्तिमा भनिएको छ, ‘विगतमा जस्तै प्रशासनलाई थर्काउने, डर वा त्रास सिर्जना गर्ने वा दलीय आडमा काम गर्ने संस्कृतिको अन्त्य हुनुपर्ने विषयमा आम सरोकारवालामा स्पष्ट पार्दै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा समूहको प्रभावमा नपरी, पूर्ण तटस्थ, निष्पक्ष र जिम्मेवार भई जनताको सेवामा समर्पित हुन हार्दिक अपिल गर्दछौँ।’

 

Leave Your Comment

Related News