वासिङ्टन । मध्यपूर्वमा युद्धसँगै कूटनीतिक प्रयास चलिरहे पनि तनाव कम हुने सङ्केत देखिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजसम्बन्धी समयसीमा बढाएको केही समयमै इरानको रिभोलुसनरी गार्ड्सले क्षेत्रका सर्वसाधारणलाई अमेरिकी सैन्य उपस्थिति भएका स्थानबाट टाढा रहन कडा चेतावनी दिएको छ ।
ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न आग्रह गर्दै ऊर्जा पूर्वाधारमाथि सम्भावित आक्रमणको चेतावनी दिँदै आएको समयसीमालाई अप्रिल ६ सम्म सार्ने निर्णय गरेका थिए । उनले तेहरानकै अनुरोधमा यस्तो कदम चालेको र युद्ध अन्त्यका लागि वार्ता ‘राम्रोसँग अघि बढिरहेको’ बताए । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता क्षेत्रीय द्वन्द्व चर्किंदै गएको छ ।
तर इरानले भने आफ्ना सर्तमा मात्र युद्ध अन्त्य गर्ने सङ्केत दिँदै प्रतिशोधात्मक आक्रमणलाई निरन्तरता दिएको छ । यहीबीच रिभोलुसनरी गार्ड्सले ‘अमेरिकी–जियोनिस्ट शक्तिहरूले मानव ढाल प्रयोग गरेको’ आरोप लगाउँदै नागरिकलाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेका छन् । उनीहरूले अमेरिकी सेना तैनाथ रहेका क्षेत्रहरू, विशेषगरी होटलजस्ता स्थानहरू सम्भावित निशाना बन्न सक्ने चेतावनी दिएका छन् ।
यस चेतावनीअघि कुवेतले आफ्नो मुख्य व्यापारिक बन्दरगाहमा ड्रोन आक्रमणबाट क्षति पुगेको जनाएको थियो । इरानी गाड्र्सले स्ट्रेट अफ होर्मुज शत्रु राष्ट्रका जहाजहरूका लागि बन्द गरिएको दाबी गर्दै पार गर्न खोजेका तीनवटा कन्टेनर जहाजलाई फर्काइएको जानकारी दिएका छन् । उनीहरूले अमेरिकी पक्षले स्ट्रेट अफ होर्मुज खुला भएको दाबीलाई ‘झुट’ भनेका छन् ।
तेल बजार र विश्व अर्थतन्त्रमा यस तनावको प्रभाव देखिन थालेको छ । होर्मुजमार्फत ऊर्जा आपूर्ति अवरुद्ध हुने जोखिमले मूल्य अस्थिर बनेको छ । जापानले ऊर्जा सङ्कटको सम्भावना देख्दै कोइलाबाट चल्ने विद्युत् उत्पादनमा अस्थायी रूपमा प्रतिबन्ध हटाउने तयारी गरेको छ भने भियतनामले इन्धन कर अस्थायी रूपमा हटाएको छ ।
कूटनीतिक मोर्चामा भने प्रयास जारी छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियो जी७ देशहरूसँग छलफलका लागि फ्रान्समा छन । बेलायतकी विदेशमन्त्री यभेट कुपरले द्वन्द्वको शीघ्र समाधान र होर्मुजमा अवरोध अन्त्य गर्न आह्वान गर्दै इरानले विश्व अर्थतन्त्रलाई ‘बन्धक’ बनाउन नपाउने बताए ।
यसबीच, अमेरिका–इरानबीच अप्रत्यक्ष वार्ताको प्रक्रिया पनि अघि बढिरहेको छ । १५ बुँदे अमेरिकी प्रस्ताव पाकिस्तानमार्फत तेहरानसम्म पुगेको र इरानले त्यसमा प्रतिक्रिया दिइसकेको जनाइएको छ । इरानले युद्ध क्षतिपूर्ति र स्ट्रेट अफ होर्मुजमा आफ्नो सार्वभौमिकताको सम्मान गर्नुपर्ने माग अघि सारेको बताइएको छ । साथै, उसले अमेरिका र इजरायलका आक्रमणहरू अन्त्य गर्नुपर्ने शर्त पनि राखेको छ ।
मानवीय पक्षले पनि चिन्ता बढाएको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले युद्धको पहिलो दिन इरानी विद्यालयमा भएको घातक आक्रमणबारे अनुसन्धान पूरा गरी न्याय सुनिश्चित गर्न वासिङ्टनलाई आग्रह गर्नुभयो । प्रारम्भिक अमेरिकी अनुसन्धानले लक्षित त्रुटिका कारण टोमहाक क्रुज मिसाइल विद्यालयमा खसेको सङ्केत गरेको छ ।
युद्धले सांस्कृतिक सम्पदामा पनि असर पारेको छ । तेहरानका एक वरिष्ठ अधिकारीका अनुसार अमेरिका र इजरायली आक्रमणबाट देशभर कम्तिमा १२० वटा सङ्ग्रहालय तथा ऐतिहासिक स्थलहरू क्षतिग्रस्त भएका छन्, जसमा युनेस्को सूचीमा रहेको गोलेस्तान दरबार पनि समावेश छ ।
यसैबीच, इजरायलले इरानका विभिन्न क्षेत्रमा नयाँ आक्रमण तीव्र पारेको छ । तेहरान, कोम र उर्मियामा आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलभित्रै भने युद्धको रणनीतिमाथि प्रश्न उठ्न थालेका छन् । विपक्षी नेता यायर लापिडले सेना धेरै मोर्चामा फैलिँदा क्षति बढिरहेको बताए ।
दक्षिणी लेबनानमा हिज्बुल्लाहसँगको लडाइँका कारण इजरायली सेनाले थप सैनिक आवश्यक रहेको जनाएको छ । लेबनानको बेरुत क्षेत्रमा पनि नयाँ हवाई आक्रमण भएको रिपोर्ट आएको छ भने हिज्बुल्लाहले उत्तरी इजरायलतर्फ रकेट प्रहार गरेको जनाएको छ ।
–––


