CLI

केपी शर्मा ओलीको रिहाइको माग गर्दै एमालेद्वारा देशव्यापी विरोध कार्यक्रम घोषणा

काठमाडौं ।नेकपा एमाले सचिवालयको आकस्मिक बैठकले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ ।

पार्टीको आकस्मिक सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीलाई गैरकानुनी तरिकाबाट पक्राउ गरिएको बताएका छन् ।

बैठकले उक्त कदम लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको भन्दै कडा शब्दमा निन्दा, भत्र्सना र विरोध जनाउने निर्णय गरेको छ ।

बैठकले अध्यक्ष ओलीसँगै रमेश लेखकलाई गरिएको पक्राउलाई प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी कदमको रूपमा व्याख्या गरेको छ । एमालेले दुवै नेताको तत्काल रिहाइको माग गरेको छ ।

उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष तथा नेपाल सरकारका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरकानुनी तरिकाबाट गिरप्तार गरिसकेपछि पार्टीको आकस्मिक सचिवालय बैठक बसेको थियो । बैठकले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान गरिएको प्रतिसोधपूर्ण पूर्वाग्रही र गैरकानुनी गिरप्तारीको निन्दा भत्र्सना र विरोध गर्दछ । उक्त गिरप्तारी लोकतान्त्रिक मूल्य कानुनी शासनको मर्म विपरित रहेको हुनाले तत्काल रिहाई गर्न माग गर्दछ ।’

यसैबीच, २०८२ भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगप्रति पनि एमालेले पुनः असहमति जनाएको छ । पार्टीका अनुसार उक्त आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिसोधपूर्ण र अनुसन्धानका न्यायिक सिद्धान्तविपरीत रहेको ठहर गरिएको छ । साथै, सर्वोच्च अदालतले समेत आयोगमाथि गम्भीर प्रश्न उठाइसकेको उल्लेख गरिएको छ ।

एमालेले सो घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।

उनले भने , ‘२०८२ भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि तत्कालिन सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति हाम्रो पार्टीको सुरुदेखि नै असहमति र विरोध रहँदै आएको छ । उक्त आयोगप्रति सम्मानित सर्वोच्च अदालतले समेत गम्भिर प्रश्नहरु उठाएको कुरा छ । आयोगद्वार प्रस्तुत गरिएको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्त विपरित रहेको हाम्रो पार्टीको ठहर छ । तसर्थ उक्त घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वौच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरिय छानविन आयोग गठन गर्न यो बैठक माग गर्दछ ।’

पार्टीले अध्यक्ष ओली र नेता लेखकको पक्राउलाई नियोजित तथा निर्देशित कदम भन्दै यसको विरोधमा लोकतन्त्र, कानुनी शासन र मानवअधिकारको रक्षाका लागि राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायसँग संयुक्त तथा प्रभावकारी पहलका लागि आह्वानसमेत गरेको छ ।

यसैगरी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको तत्काल रिहाइको माग गर्दै विभिन्न कार्यक्रम घोषणा गरेको छ ।
बैठकले वर्तमान परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो ।
घोषित कार्यक्रमअनुसार, आजै अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिनेछ । त्यस्तै, भोलि चैत्र १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीहरूको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाइने कार्यक्रम तय गरिएको छ ।

यसैगरी, बैठकले लोकतन्त्र र कानुनी राज्यको पक्षमा रहेका अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने निर्णय पनि गरेको छ ।

Leave Your Comment

Related News