CLI

नेताहरूको गिरफ्तारीप्रति राष्ट्रिय युवा संघको कडा आपत्ति: देशभर सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाडौं ।  राष्ट्रिय युवा सङ्घ नेपालले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि गरिएको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घका अध्यक्ष महाराज गुरुङले आज एक प्रेस वक्तव्य जारी गर्दै नवनिठित मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा नेताहरूमाथि गरेको व्यवहारलाई ‘राजनीतिक प्रतिशोध’ र ‘पूर्वाग्रह’को पराकाष्ठा भएको बताएका छन् ।

युवा सङ्घले भदौ २३ र २४ का घटनाहरूको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले सुरुदेखि नै निष्पक्षता गुमाएको आरोप लगाएको छ। वक्तव्यमा भनिएको छ, ‘यो प्रतिवेदन सत्य खोज्ने होइन, प्रतिशोधलाई वैधानिकता दिने दस्ताबेजका रूपमा प्रस्तुत भएको हाम्रो ठहर छ।’ कानुनी रूपमा पुष्टि हुन नसक्ने र मनगढन्ते व्याख्याका आधारमा सरकार गठन भएको २४ घण्टा नबित्दै गरिएको यो कार्य विधिको शासन र कानुनी राज्यमाथिको प्रहार भएको सङ्घको बुझाइ छ।

लोकतान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेका नेताहरूमाथि गरिएको यस्तो व्यवहारको भर्त्सना गर्दै युवा सङ्घले उनीहरूलाई निःशर्त रिहा गर्न र पूर्वाग्रहपूर्ण भनिएको कार्की आयोगको प्रतिवेदन तत्काल खारेज गर्न माग गरेको छ।

सरकारले आफ्नो ‘प्रतिशोधपूर्ण’ निर्णय तुरुन्त फिर्ता नलिएमा देशभर सशक्त प्रतिरोधका कार्यक्रमहरू अघि बढाउने चेतावनी युवा सङ्घले दिएको छ।

Leave Your Comment

Related News