CLI

कम्बोडियामा अलपत्र परेका १२ नेपालीको उद्धार

काठमाडौं । विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका, क्यासिनोहरूमा अनलाइन ठगी तथा अन्य गैरकानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका १२ जना नेपालीको उद्धार गरिएको छ। बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएका उनीहरूलाई गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा आज नेपाल फर्काइएको दूतावासले जनाएको छ।

साथै, अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको नेपाली राजदूतावास, बैंककले जनाएको छ। अप्ठ्यारोमा परेका नेपालीहरूलाई सहजीकरणका लागि दूतावास वा गैरआवासीय नेपाली संघ, कम्बोडियाका प्रतिनिधिहरू शिवराज पराजुली (+८५५ १२ २१५ ५७८), लालसिंह खड्का (+८५५ ९३ २०३ ६६६) र रामजी कुमार क्षेत्री (+८५५ ९६ ३४६ ५७८८) लाई सम्पर्क गर्न आग्रह गरिएको छ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्क अनुसार, सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा त्यहाँ गएकोमा सन् २०२२ मा १,९७७, सन् २०२३ मा २,९४०, सन् २०२४ मा ६,४०४ र सन् २०२५ मा ९,६७६ जना पुगेको देखिएको छ।

नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहानामा नआउन राजदूतावासले पुनः अनुरोध गरेको छ।

Leave Your Comment

Related News