CLI

ट्रम्प: युद्ध अन्त्य गर्न सम्झौता आवश्यक छैन, इरानले ‘धेरै वर्षसम्म’ आणविक हतियार प्राप्त गर्न सक्दैन

काठमाडौं । डोनल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्यतर्फ जाने संकेत दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग कुनै औपचारिक सम्झौता नगरे पनि दुईदेखि तीन हप्ताभित्र युद्ध सकिन सक्ने बताएका छन् ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न असमर्थ बनाइएपछि अमेरिका युद्धबाट बाहिरिने बताए । “इरानसँग सम्झौता आवश्यक छैन, जब हामी सुनिश्चित हुन्छौं कि उनीहरूले आणविक हतियार बनाउन सक्दैनन्, तब हामी फर्कन्छौं,” उनले भने ।

ट्रम्पले इरानको भूमिगत रूपमा राखिएको समृद्ध युरेनियम भण्डार तत्काल चिन्ताको विषय नभएको दाबी गर्दै त्यसमा पहुँच पाउन कठिन हुने उल्लेख गरे । उनले अमेरिका र उसका सहयोगीले इरानको आणविक कार्यक्रमलाई ठूलो क्षति पुर्‍याइसकेको पनि बताए ।

यसैबीच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतनन्याहुले पनि इरानको आणविक हतियार उत्पादन क्षमता “ध्वस्त” पारिएको दाबी गरेका छन्। उनले जारी सैन्य कारबाहीले इरानको मिसाइल र आणविक पूर्वाधारमा गम्भीर असर परेको बताए।

युद्ध अन्त्यतर्फ उन्मुख देखिए पनि अमेरिकाले सम्भावित स्थलगत कारबाहीका लागि सैनिक परिचालन भने जारी राखेको छ। अमेरिकी सेनाले हालसम्म इरानका विभिन्न लक्ष्यमा ११ हजारभन्दा बढी आक्रमण गरिसकेको जानकारी दिइएको छ।

ट्रम्पले अमेरिका छिट्टै इरानबाट बाहिरिने दाबी गर्दै यसले विश्व बजारमा तेलको मूल्य घट्न सक्ने पनि बताए। यद्यपि, स्ट्रेट अफ होर्मुज  क्षेत्रमा सुरक्षा चुनौती कायम रहेको संकेत उनले दिए ।

अर्कोतर्फ, चीन र पाकिस्तानले तत्काल युद्धविराम र शान्ति वार्ताका लागि संयुक्त प्रस्ताव अघि सारेका छन्। उक्त प्रस्तावमा होर्मुज जलडमरु मार्ग पुनः सञ्चालन गर्ने र संयुक्त राष्ट्रसंघको पहलमा शान्ति सम्झौता गर्ने सुझाव समावेश गरिएको छ।

युद्ध कहिले पूर्ण रूपमा अन्त्य हुन्छ भन्ने विषयमा स्पष्ट समयसीमा नदिए पनि ट्रम्पले “छिट्टै युद्ध सकिने” दोहोर्‍याएका छन्। उनले इरानलाई पुनः पूर्ववत् अवस्थामा फर्किन दशकौं लाग्न सक्ने दाबी समेत गरेका छन्।

Leave Your Comment

Related News