काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु भएको छ । अधिवेशनको उदघाटनका अवसरमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले परिपक्व, संयमित र समन्वयकारी सदनका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्दै यसलाई आगामी दिनमा पनि कायम राख्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले राष्ट्रियसभा स्थायी सदन भएकाले प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यको पद रिक्त हुने संवैधानिक व्यवस्था अनुसार हालै १९ जना सदस्यलाई बिदाइ र १८ जना नयाँ सदस्यलाई स्वागत गरिएको जनाउँदै नवनिर्वाचित सदस्यको सहभागिताले संसद्को काम अझ समृद्ध र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई एकल बहुमत प्राप्त भएको र वालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको सन्दर्भमा संसद्को भूमिका अझ जिम्मेवार बनेको धारणा राखे ।
लोकतान्त्रिक व्यवस्थामा जनादेश सर्वोपरि हुने उल्लेख गर्दै उनले सरकारलाई सुशासन, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहतर्फ मार्गदर्शन गर्नु संसद् र सांसदको कर्तव्य भएको स्पष्ट पारे । अध्यक्ष दाहालले राष्ट्रियसभा र प्रतिनिधिसभाबीचको सहकार्यलाई लोकतान्त्रिक अभ्यासको आधारस्तम्भका रूपमा व्याख्या गर्दै दुई सदनबीच समन्वय र सहकार्य सुदृढ हुनुपर्नेमा जोड दिए ।
उनले राष्ट्रियसभालाई सङ्घीय संरचनाको सन्तुलन र दीर्घकालीन दृष्टिकोणको प्रतिनिधिसंस्थाका रूपमा व्याख्या गरिएको उल्लेख गरे । बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको क्षति र सिंहदरबारमा निर्माणाधीन नयाँ भवन हालसम्म सम्पन्न नभएकाले हालको अधिवेशन पनि पुरानै भवनबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष दाहालले जानकारी दिए ।
उनले निर्माणाधीन उक्त नयाँ भवन यथाशीघ्र सम्पन्न भई आधुनिक प्रविधिसहित संसद् सञ्चालन हुने अपेक्षा व्यक्त गरे । नवनिर्वाचित सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिँदै अध्यक्ष दाहालले यसले संसदीय अभ्यासलाई अझ व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।
आगामी दिनमा विधेयक, नीतिगत विषय तथा राष्ट्रिय सरोकारका मुद्दामा सदस्यहरूको सक्रिय, रचनात्मक र उत्तरदायी सहभागिता रहने उनले विश्वास व्यक्त गरे । लोकतन्त्रको सुन्दर पक्ष स्वस्थ बहस, विचारको विविधता र सहमतिमा आधारित संस्कृतिमा निहित हुने रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले संसद्भित्र गरिमामय र तथ्यपरक बहस आवश्यक रहेकामा जोड दिए ।
उनले राष्ट्रिय हितलाई सर्वोपरि राख्दै राजनीतिक मतभेदभन्दा माथि उठेर काम गर्न सबै सदस्यलाई आह्वान गरे । आजको बैठकमा अध्यक्ष दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त बेहोराको जानकारी गराएका थिए । आजको बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष र राष्ट्रियसभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनका लागि मिति तोक्ने कार्यसूची रहेको छ ।


