काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको द्वन्द्वका कारण नेपाली नागरिकहरू पनि प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्। पछिल्लो विवरणअनुसार यस क्षेत्रका विभिन्न घटनामा परेर एक नेपाली नागरिकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । त्यस्तै ११ जना नेपाली पक्राउ परेका छन् । यसले त्यस क्षेत्रमा रहेका नेपालीको सुरक्षालाई लिएर चिन्ता थप बढाएको छ र सरकारले त्यसतर्फ ध्यान केन्द्रित गरेको देखिन्छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा पश्चिम एसियामा विकसित पछिल्लो अवस्थाबारे विस्तृत जानकारी दिँदै नेपाली नागरिकको सुरक्षा, उद्धार र समन्वयका प्रयासहरू तीव्र बनाइएको जनाएको छ।
ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पश्चिम एसियाका विभिन्न देशहरूमा ११ जना नेपाली पक्राउ परेको जानकारी दिए। उनका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) मा ३ जना, साउदी अरेबियामा ४ जना, कुवेतमा ३ जना र ओमनमा १ जना नेपाली नियन्त्रणमा रहेका छन्। उनीहरूलाई कस्तो सजाय हुने भन्नेबारे सम्बन्धित देशहरूसँग बुझ्ने काम भइरहेको उनले बताए ।
प्रवक्ता क्षेत्रीले पक्राउ परेका नेपालीहरूको अवस्थाबारे थप जानकारी संकलन गर्न नेपालका विभिन्न नियोगमार्फत पहल भइरहेको पनि स्पष्ट पारे । साथै, इरानको नियन्त्रणमा रहेका जहाज चालक अमृत झाको विषयमा समेत कूटनीतिक पहल जारी रहेको जानकारी दिए। हाल इरानमा ११ जना नेपाली रहेको मन्त्रालयले जनाएको छ।
उक्त प्रेस ब्रिफिङमा द्वन्द्वका कारण असहज अवस्थामा रहेका नेपालीहरूको विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन प्रणालीमा हालसम्म ८६ हजार ४२० जनाले नाम दर्ता गराएका छन्।
प्रवक्ता क्षेत्रीका अनुसार प्रारम्भमा धेरै नेपालीहरूले आफू असुरक्षित भएको भन्दै उद्धारका लागि नाम दर्ता गरेका थिए। तर पछिल्लो समय सुरक्षित महसुस गर्दै नाम फिर्ता लिनेहरूको संख्या बढ्दै गएको छ। “हाल फोन गरेर असुरक्षित भएको जानकारी गराउने संख्या पनि घट्दो क्रममा छ,” उनले भने। ट्रान्जिटमा फसेका सबै नेपालीहरूको व्यवस्थापन भइसकेको पनि उनले जानकारी दिए।
यसैबीच, द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको उद्धार तथा आवागमन सहज बनाउन सरकारले विशेष उडान सञ्चालन गरेको छ। नेपाल वायुसेवा निगमले अप्रिल ३ देखि ५ सम्म काठमाडौं–दुबई–काठमाडौं तथा काठमाडौं–दमाम–काठमाडौं उडान सञ्चालन गर्ने जनाएको छ। यी उडानमार्फत स्वदेश फर्किन चाहने तथा गन्तव्यमा पुग्न नसकेका नेपालीलाई सहजीकरण गरिनेछ।
पश्चिम एसियामा विकसित घटनाक्रमले नेपालमा पार्ने प्रभावबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालको संयोजकत्वमा गठन गरिएको १० सदस्यीय कार्यदलले आर्थिक, श्रम, ऊर्जा लगायतका क्षेत्रमा पर्ने प्रभावको मूल्यांकन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने लक्ष्य राखेको छ।


