महेन्द्रनगर । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका सभापति अनिताकुमारी साहले वार्षिक प्रतिवेदन २०८२ पेस गरेका छन् । जनकपुरधाममा प्रदेशसभा भवनमा आज आयोजित कार्यक्रममा समितिका सभापति साहले सो प्रतिवेदन प्रस्तुत गरेको हो ।
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा समितिका सदस्यहरूको पनि सहभागिता रहेको थियो । प्रतिवेदनमा प्रदेशको आर्थिक अवस्था, बजेट कार्यान्वयनको प्रगति, योजना व्यवस्थापन तथा आगामी नीति तथा कार्यक्रमसम्बन्धी सुझावहरू समेटिएको छ ।
समितिले आर्थिक पारदर्शिता, विकास योजनाको प्रभावकारी कार्यान्वयन तथा राजस्व व्यवस्थापनमा सुधार आवश्यक रहेको औँल्याएको छ । कार्यक्रममा सभामुख यादवले समितिले पेस गरेको प्रतिवेदनले प्रदेश सरकारलाई नीतिगत निर्णय लिन सहयोग पुग्ने बताए ।
उनले प्रतिवेदनमा उठाइएका सुझावहरुलाई कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई निर्देशन दिने बताए । अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदनलाई प्रदेशको समग्र आर्थिक विकासका लागि महत्त्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ ।


