काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज पद तथा गोपनीयताको शपथ लिएका छन । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन । उनले आजै पदबहाली समेत गरे ।
नेपाल सरकार (मन्त्रिपरिषद्)को २०८२ चैत २४ गतेको निर्णयअनुसार पण्डित डेपुटी गभर्नरमा नियुक्त भएको हो । शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले डेपुटी गभर्नर पण्डितलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको निम्ति शुभकामना दिए ।
डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए । उनी २०६८ सालमा उप– निर्देशक, २०७४ सालमा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएको थियो ।
कार्यकारी निर्देशक रहँदा उहाँले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्वसँगै बैंकको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।


