CLI

विदेशी लगानीकर्ताले नेपालबाट लगे १६ अर्ब ८१ करोड लाभांश

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा गरेको लगानीको प्रतिफलस्वरूप पौने १७ अर्ब लाभांश लगेका छन् ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष नौ (साउन देखि चैतमसान्त) महिनामा विदेशी लगानीकर्ताले नेपालबाट १६ अर्ब ८१ करोड ७९ लाख लाभांश लगेका हुन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ अर्ब ३१ करोड ८३ लाखले बढी हो । गत आर्थिक वर्षको नौ महिनामा ९ अर्ब ४९ करोड ९९ लाख लाभांश वितरण गरिएको थियो । विभागले चैतमा मात्रै २८ अर्ब ४७ करोड लाभांश वितरण गरेको जनाएको छ ।

लगानी प्रतिबद्धताको तुलनामा न्यून लगानी भित्रिए पनि निरन्तर आएको वैदेशिक लगानी र त्यसको प्रतिफलस्वरूप लाभांश वितरण गरिएको हो । सेवा, पर्यटन र सञ्चार प्रविधमा लगानी गरेबापत ठूलो लाभांश लैजाने गरेको विभागले जनाएको छ । यसका अलावामा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि र उत्पादनमूलक उद्योग तथा व्यवासाय सञ्चालन गरी मुनाफा लैजाने गरेको उद्योग मन्त्रालयले जनाएको छ । नेपाल उद्योग तथा व्यवसाय क्षेत्रमा लगानी गरेबापत विदेशीहरूले निरन्तर लाभांश लैजाने गरेको विभागका सूचना अधिकारी सुरेश दाहालले जानकारी दिए । उनका अनुसार मासिकरूपमा लाखौँ रकम लाभांशबापत लैजान गरेका छन् ।

उनीहरूले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखांकन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्यांकन गरिएको राष्ट्र बैंकले जनाएको छ । विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् ।

विभागले आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब ३५ करोड ८५ लाख र आर्थिक वर्ष २०७९/८० मा मात्र १६ अर्ब ७६ करोड ९३ लाख लाभांश वितरण गरिएको छ । विभागले मासिकरूपमा लाखौँ रकम लाभांश वितरण गर्दै आएको हुँदा लाभांश रकम मासिकरूपमा बढ्दै गएको देखिन्छ । यता विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार पछिल्लो समय लाभांश रकम लैजानको लागि आवेदन प्रक्रिया पूरा गर्नेको संख्या बढ्दै गएसँगै लाभांश रकम बढ्दै गएको हो । लगानी गरेपछि प्रतिफल लैजान प्रक्रियागत र कानुनीगत समस्या नभएसँगै रकम लैजाने क्रमले निरन्तरता पाएको हो ।

विदेशी लगानीकर्ताले लगानी गरेपछि लाभांश लैजाने मात्र नभई यहाँको नियमअनुरूप विभिन्न दस्तुरहरू बुझाउने गरेका छन् । चालू आवको नौ महिनामा ४ अर्ब ७५ करोड ९४ लाख राजस्व संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३ अर्ब २८ करोड ७४ लाखले बढी हो । गत आवको नौ महिनामा १ अर्ब ४७ करोड २० लाख राजस्व संकलन भएको थियो । चालु आवको चैतमा मात्रै २१ करोड ४८ लाख राजस्व संकलन भएको विभागले जनाएको छ ।

विदेशी लगानीकर्ताले स्वचालित मार्गबाट नेपालमा लगानी गर्दा सातवटा औद्योगिक तथा व्यावसायिक क्षेत्रका ६० प्रकारका उद्योग तथा व्यसायमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ । लगानी पछि प्रतिफलस्वरुप लाभांश लैजाने गरेका छन् । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।

Leave Your Comment

Related News