काठमाडौं । काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिना (साउन देखि चैतमसान्त) मा जीवन बीमा कम्पनीहरूले सवा खर्ब बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको नौ महिनामा १ खर्ब २४ अर्ब ७२ करोड बीमा शुल्क संकलन गरेको छ ।
नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको नौ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले १ करोड १५ लाख ७१ हजार २० वटा बीमा लेख मार्फत उक्त बीमा शुल्क आर्जन गरेका हुन् । गत आर्थिक वर्षको तुलनमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलन ११.३१ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको नौ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ अर्ब १८ करोड १२ लाख बीमा शुल्क संकलन गरेका थिए । समिक्षा अवधिमा प्रथम बीमा शुल्क ३१ अर्ब ८७ करोड २ लाख रहेको छ भने नवीकरण बीमाशुल्क १ खर्ब ८ अर्ब ५८ करोड ६७ लाख रहेको छ ।
प्राधिकरणको तथ्यांक अनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी बीमा शुल्क संकलन गर्ने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ, आइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल र हिमालयन लाइफ इन्स्योरेन्स लगायतका कम्पनीले बीमा शुल्क संकलन गरेको छ । नेपाल लाइफले ३६ अर्ब ८६ करोड १९ लाख, नेशनलले १७ अर्ब ७ करोड ९४ लाख, एलआइसीले १५ अर्ब १७ करोड ८ लाख र हिमालयन लाइफ इन्स्योरेन्सले १३ अर्ब २६ करोड ६१ लाख बराबर बीमा शुल्क संकलन गरेको छ ।
गत आवको सोही अवधिमा नेपाल लाइफले ३३ अर्ब १ करोड ७८ लाख, नेशनल लाइफले १५ अर्ब ६४ करोड ११ लाख, एलआइसीले १४ अर्ब ३ करोड ६३ लाख र हिमालयनले १२ अर्ब ५९ करोड ६९ लाख बीमा शुल्क संकलन गरेको थियो ।
समिक्षा अवधिमा राष्ट्रिय जीवन बीमाले ९ अर्ब ११ करोड ८३ लाख ,सूर्यज्योति लाइफ इन्स्योरेन्सले ८ अर्ब ५५ करोड १५ लाख, एशियन लाइफले ७ अर्ब २४ करोड ७० लाख, सिटिजन्स लाइफले ६ अर्ब ६ करोड ७१ लाख र सानिमा रिलायन्स लाइफले ५ अर्ब ४२ करोड ४४ लाख बीमा शुल्क संकलन गरेको छ । गत आवको नौ महिनामा राष्ट्रिय जीवन बीमाले ८ अर्ब १६ करोड ३५ लाख ,सूर्यज्योति लाइफ इन्स्योरेन्सले ७ अर्ब ६५ करोड ८० लाख, एशियन लाइफले ६ अर्ब ४६ करोड ४३ लाख, सिटिजन्स लाइफले५ अर्ब ८ करोड ७१ लाख र सानिमा रिलायन्स लाइफले ४ अर्ब ८४ करोड ६५ लाख बीमा शुल्क संकलन गरेको थियो ।
चालु आवको नौ महिनामा आइएमइ लाइफले ४ अर्ब ९५ करोड १३ लाख, मेट लाइफले ४ अर्ब ९० करोड ५४ लाख, रिलायबल नेपाल लाइफले ४ अर्ब ४४ करोड ९० लाख, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड २२ लाख र सन नेपाल लाइफले ३ अर्ब १७ करोड १९ लाख बीमा शुल्क संकलन गरेको छ ।
गत आवको नौ महिनामा आइएमइ लाइफले ३ अर्ब ७७ करोड ३१ लाख , मेट लाइफले ४ अर्ब ४४ करोड ४१ लाख, रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड १२ लाख, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोड ५३ लाख र सन नेपाल लाइफले ३ अर्ब ८ करोड ५४ लाख बीमा शुल्क संकलन गरेको थियो ।



