काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासँग सम्बन्धित पछिल्लो घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाले राज्यका निकायहरूलाई संवेदनशील र प्रक्रियागत रूपमा निष्पक्ष रहन आग्रह गर्दै विधिको शासन सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।
नाइमाले शुक्रबार जारी गरेको विज्ञप्तिमा आफ्नो बोर्ड सदस्यसमेत रहेका गोल्छामाथि भइरहेको कानुनी प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै कुनै पनि व्यक्तिमाथि अनुसन्धान वा कारबाही अघि बढाउँदा सम्बन्धित पक्षलाई आफ्नो स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर दिनुपर्ने उल्लेख गरेको छ। संस्थाले प्रक्रियागत स्पष्टता र उचित विवेकले मात्र प्रणालीप्रतिको विश्वास बलियो हुने दाबी गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यस्ता प्रकृतिका विषयमा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर प्रदान गरिनु पर्दछ। प्रक्रियागत स्पष्टता र उचित विवेकले मात्र प्रणालीप्रतिको विश्वास सुदृढ हुन्छ।’
मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै नाइमाले राज्यका नीतिगत व्यवहार सकारात्मक र सन्तुलित हुनुपर्ने धारणा पनि राखेको छ। संस्थाले निजी क्षेत्रको मनोबल कमजोर हुने किसिमका कदमले उद्यमशीलता र लगानी वातावरणमा असर पार्न सक्ने चेतावनीसमेत दिएको छ।
नाइमाले आफू पारदर्शिता र विधिको शासनको पक्षमा रहेको स्पष्ट गर्दै कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष अनुसन्धान हुनु आवश्यक रहेको बताएको छ। कानुन उल्लंघन गर्ने जो–कोहीमाथि कारबाही हुनुपर्ने विषयमा संस्था अडिग रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
तर पर्याप्त प्रमाण र प्रक्रियागत आधार बिना कुनै व्यक्तिमाथि कठोर कदम चालिँदा समग्र आर्थिक प्रणाली र व्यवसायिक विश्वासमा नकारात्मक असर पर्न सक्ने जोखिमप्रति पनि संस्थाले सचेत गराएको छ।
उता, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार शेखर गोल्छालाई बिहीबार नियन्त्रणमा लिइएको हो। उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न दफामा उल्लेखित कसूरमा संलग्न रहेको आशंकामा थप अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।


