CLI

केएमसीको १ वर्षको आम्दानी साढे २ अर्ब, वित्तीय अवस्थामा सुधार

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले गत वर्ष (सन् २०२५-२६)मा करिब साढे २ अर्ब रुपैयाँ आम्दनी गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडका अनुसार हस्पिटलले २ अर्ब ४७ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको हो । सन् २०२४ मा केएमसीले १ अर्ब ८५ करोड, २०२३ मा १ अर्ब ४९ करोड, सन् २०२२ मा १ अर्ब २८ करोड र सन् २०२१ मा १ अर्ब १३ करोड आम्दानी गरेको छ ।

हस्पिलटले २ अर्ब ८२ करोड १७ लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको हो । जसमध्ये लङ ट्रम २ अर्ब १२ करोड ११ लाख रुपैयाँ  कर्जाका लागि एजेन्सीले ‘इक्रा एलबीबी प्लस’ र सर्ट ट्रम ७० करोड ५ लाख कर्जाका ‘इक्रा ए४ प्लस’ रेटिङ प्रदान गरेको छ  ।

रेटिङ सुधारको मुख्य कारण पछिल्ला वर्षहरुमा कम्पनीको सञ्चालनमा आएको उल्लेखनीय सुधार हो । पछिल्ला २ आर्थिक वर्ष र चालु वर्षको पहिलो ६ महिनामा समेत कम्पनीको आम्दानीमा तीव्र वृद्धि देखिएको छ। बिरामीको संख्या बढ्नु, अस्पतालको क्षमता उपयोग सुधार हुनु र प्रति बिरामी आम्दानी बढ्नु यसका प्रमुख कारण हुन्।

यससँगै कम्पनीको अस्पताल सञ्चालनबाट मात्र नभई भाडा आम्दानी र शैक्षिक कार्यक्रमबाट हुने आम्दानी पनि बढेको छ । मेडिकल शिक्षातर्फ विद्यार्थी भर्ना दर उच्च रहनु र विभिन्न कोर्सहरुमा माग बढ्नुले पनि आम्दानीमा सकारात्मक प्रभाव पारेको छ ।

कम्पनीको वित्तीय अवस्थामा पनि सुधार देखिएको छ । ऋण तिर्न सक्ने क्षमता सुधार भई सन् २०२५ मा debt-to-OPBITDA अनुपात ३.६ गुणामा झरेको छ, जुन २०२३ मा ४.६ गुणा थियो। त्यस्तै, ऋण सेवा क्षमता १.५ गुणा रहेको छ, जुन निकट भविष्यमा अझ सुधार हुने अपेक्षा गरिएको छ।

यद्यपि, कम्पनी अझै मध्यम स्तरको पुँजी संरचना र तुलनात्मक रुपमा उच्च ऋण भारबाट प्रभावित छ । स्वास्थ्य बीमा कार्यक्रमबाट रकम संकलनमा ढिलाइ, शुल्क संकलनको समयगत असन्तुलन तथा प्रतिस्पर्धात्मक स्वास्थ्य क्षेत्रका कारण केही जोखिम कायम छन्।

इक्राले कम्पनीको अनुभवी व्यवस्थापन, लामो सञ्चालन इतिहास, र स्वास्थ्य तथा मेडिकल शिक्षामा रहेको उच्च मागलाई सकारात्मक पक्षका रुपमा उल्लेख गरेको छ । सञ्चालन सुधार, बढ्दो आम्दानी र वित्तीय सूचकहरुमा आएको सुधारका कारण केएमसीको क्रेडिट रेटिङ उकासिएको हो भने आगामी दिनमा यसको प्रदर्शन, ऋण व्यवस्थापन र पुँजी संरचना अझ सुधार गर्ने क्षमता मुख्य निगरानीका विषय रहने बताइएको छ ।

काठमाडौं मेडिकल कलेज सन् २००९ मा स्थापना भएको संस्था हो। यसले काठमाडौंको सिनामंगलमा मेडिकल कलेज तथा शिक्षण अस्पताल सञ्चालन गर्दै आएको छ । कलेज काठमाडौं विश्वविद्यालयसँग आबद्ध छ र यहाँ DM/MCH, MD/MS, MBBS, BDS तथा BSc Nursing लगायतका मेडिकल तथा पैरामेडिकल कोर्सहरु सञ्चालन गरिन्छन्।

मेडिकल कलेज सञ्चालनको आवश्यकताअनुसार ५०० शैयाको शिक्षण अस्पताल पनि सञ्चालन गर्दै आएको छ ।

Leave Your Comment

Related News