काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार आफनो ७१ औं वार्षिकोत्सवमा निजी मिडियालाई पूर्ण रुपमा प्रवेश निषध गर्यो । राष्ट्र बैंकले वािर्षकोत्सवको अवसरमा निजी मिडियालाई प्रवेश निषेध गरेको इतिहासमा यो पहिलो पटक हो । निजी मिडियालाई प्रवेशमा रोक लगाउनुमा भने वार्षिकोत्सवको अवसरमा कर्मचारीले गर्ने विरोध प्रदर्शन रहेको थियो ।
राष्ट्र बैंकका उच्च अधिकारीहरुले आफनो महत्वपूर्ण समयमा भएको विरोध प्रर्दशन लुकाउनका लागि निजी मिडियालाई प्रवेशमा रोक लगाएको थियो । राष्ट्र बैंकका उच्च तहका कर्मचारीको गैर जिम्मेवारी व्यवहारका कारण बैंकको आर्थिक वर्ष २०८२÷८३ को कार्य सम्पादन बढुवा ढिलाई भएको भन्दै कर्मचारीले असन्तुष्टि पोखेका थिए ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले सोमबार वार्षिकोत्सव कार्यक्रमस्थल अगाडी कालो ब्यानर सहित कार्य सम्पादन बढुवामा ढिलाई गरेको भन्दै प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा उनीहरुले सुटुक्क हुन्छ बढुवा, व्यवस्थापनले देखेन कर्मचारी लगायतका नारा लेखका प्लेकार्ड बोकेका थिए । संघले राष्ट्र बैंकका अधिकारीहरु विदेश भ्रमणका कारण बढुवा हुन नसकेको बताएका छन् ।
कर्मचारीको प्रदर्शन सँगै बैंकको व्यवस्थापन पक्षसँग उनीहरु असन्तुष्ट रहेको विषय सार्वजनिक भएको छ । राष्ट्र बैंकमा ८ जना निर्देशक, २० जना उपनिर्देशक, १३ जना सहयाक निर्देशक र ४५ जना सहायक निर्देशक गरी कुल ८६ जना कर्मचारी बढुवाको पखाईमा रहेका छन् ।
राष्ट्र बैंकका एक निर्देशकले विरोध प्रर्दशन सार्वजनिक हुने भन्ने डरले निजी मिडियालाई रोक नलगाएको बताए । हामीले छोटो कार्यक्रम गर्ने तयारी अुनरुप निजी मिडियालाई वार्षिकोत्सव कार्यक्रममा सहभागी नगराएको निर्देशकको भनाई छ ।


