CLI

सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट

काठमाडौं । प्रतिनिधिसभाका सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत Mr. Zhang Maoming ले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो ।

भेटका क्रममा सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले एक चीन नीतिप्रति नेपालको पूर्ण प्रतिबद्धता दोहो¥याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारे ।

सभामुख अर्यालले वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र नयाँ प्रविधि प्रवद्र्धनमा केन्द्रित रहेको उल्लेख गर्दै चीन सरकारको साथ र सहयोग अपेक्षित रहेको बताए । सरकारले अघि सारेको १०० बुँदे कार्ययोजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै उनले राजनीतिक संक्रमणकालमा चीनले देखाएको सद्भावप्रति धन्यवाद व्यक्त गरे ।

उनले संघीय संसदका दुवै सदन, संसदीय समितिहरू र मैत्री समूहमार्फत अन्तरसंसदीय सहकार्य विस्तार गरिने उल्लेख गर्दै आफ्नो कार्यकालमा प्रभावकारी र उत्कृष्ट संसद निर्माण गर्ने प्रतिबद्धता जनाए । साथै, सन् २०२२ डिसेम्बर १२ मा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच भएको समझदारीलाई कार्यान्वयन गर्दै विधायिकी निकायबीच सहकार्य अभिवृद्धि गरिने बताए ।

सभामुख अर्यालले व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाका स्तरोन्नति तथा कनेक्टिभिटी सुदृढीकरणमा जोड दिँदै बेल्ट एन्ड रोड इनिसिएटिभ कार्यान्वयनमा गति दिनुपर्ने धारणा राखे । साथै, बहुपक्षीय मञ्चहरूमा सहकार्य, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तारमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनले नेपालको संविधानअनुसार आवश्यक कानुन निर्माणलाई तीव्रता दिने, निजी क्षेत्रको मनोबल बढाउने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवा नेतृत्वले देशको विकासमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे । साथै, विश्वमा बढ्दो द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै नेपाल शान्ति, संवाद र सहकार्यको पक्षमा रहेको बताए ।

भेटमा राजदूत माओमिङले सभामुखसँगको भेटलाई महत्वपूर्ण अवसरका रूपमा लिँदै राष्ट्रिय जनकंग्रेसका तर्फबाट शुभकामना सन्देश तथा बधाई पत्र हस्तान्तरण गर्नुभएको जानकारी दिए । उनले नेपाल–चीन सम्बन्ध असल छिमेकी, आपसी सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै सन् २०१९ मा ह्ष् व्ष्लउष्लन को नेपाल भ्रमणपछि द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको बताए ।

राजदूत माओमिङले चीनले नेपाललाई महत्वपूर्ण छिमेकीका रूपमा लिँदै आएको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मानमा निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे । उनले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गर्दै ताइवान र तिब्बतसम्बन्धी नेपाल नीति निरन्तर रहने विश्वास व्यक्त गरे ।

उनले नयाँ सरकारको सुधार, सुशासन, आर्थिक विकास र स्थायित्वका प्रयास सकारात्मक रहेको उल्लेख गर्दै युवा नेतृत्वले नेपालमा नयाँ ऊर्जा र सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गरे । साथै, प्रतिनिधिसभा र राष्ट्रिय जनकंग्रेसबीच सहकार्य विस्तार, उच्चस्तरीय भ्रमण आदानप्रदान तथा अनुभव साझेदारी आवश्यक रहेको बताए ।

राजदूत माओमिङले चीन–नेपाल सहकार्यअन्तर्गत पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन तथा विकास परियोजनाहरूमा सहकार्य बढाउने उल्लेख गर्दै संघीय संसद सचिवालयलाई विद्युतीय सवारी साधन सहयोग गरिएको जानकारी दिए । साथै, उनले सभामुख, सांसद तथा संसदीय पदाधिकारीहरूलाई चीन भ्रमणको निम्ता दिए ।

उनले विश्वमा देखिएका द्वन्द्व र अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै युद्धभन्दा शान्ति र विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

भेटका क्रममा दुवै पक्षले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउँदै संसदीय, आर्थिक, प्राविधिक तथा जनस्तरका सहकार्यलाई विस्तार गर्ने सहमति जनाएका थिए । साथै, शान्ति, स्थायित्व र साझा समृद्धिका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य बढाउनेमा जोड दिएका थिए ।

Leave Your Comment

Related News