CLI

यलम्बरको सालिक अनावरण कार्यक्रममा प्रशासनले लगायो रोक

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सुरक्षा चुनौती देखाउँदै यलम्बरको सालिक अनावरण कार्यक्रममा रोक लगाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चरदोबाटोमा निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको सालिक फरक–फरक मिति र समयमा उद्घाटनको तयारी गरिएपछि प्रशासनले रोक लगाएको हो ।

विवादका बीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १७ वैशाखमा र वडा कार्यालय बुइपाले उभौली साकेलाको दिन १८ वैशाखमा यलम्बरको सालिक अनावरण गर्ने कार्यक्रम तय गरेपछि प्रशासनले दुवै दिनको कार्यक्रम स्थगन गराएको हो । जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार प्रशासनले विवादित कार्यक्रममा ‘हस्तक्षेप’ गरेको हो ।
सालिक उद्घाटनको विषयमा विभाजित दुवै पक्षबीचमा दंगा हुने सम्भावनालाई मध्यनजर गर्दै सालिक अनावरण कार्यक्रममा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताइन् । शान्ति सुरक्षा, सामाजिक सद्भाव एवं एकतालाई मध्यनजर गर्दै दुवै कार्यक्रम स्थगन गर्न/गराउन सूचित गरिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

वडाध्यक्ष दिनेश राई प्रतिनिधिसभा सदस्य हर्क साम्पाङलाई प्रमुख अतिथि बनाएर यलम्बरको सालिक उद्घाटन गर्ने तयारीमा छन् । नगरपालिकाले कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली र किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचोको उपस्थितिमा सालिक उद्घाटन गर्ने घोषणा गरेको थियो ।

राजनीतिकरणका कारण एउटै सालिक उद्घाटन गर्न फरक–फरक मिति र फरक–फरक प्रमुख अतिथि तोकिएपछि सालिक उद्घाटन कार्यक्रम विवादित बन्न पुगेको हो । दर्जनौं चिहानमाथि ठड्याइएको सालिक उद्घाटनलाई नगर र वडा कार्यालयले ‘जुंगाको लडाइँ’ बनाएपछि आपसी द्वन्द्व सिर्जना भएको हो । वडाध्यक्ष राईले भने १८ वैशाखको कार्यक्रम नरोकिने ‘स्टाटस’ लेखेका छन् ।

कोशी प्रदेशको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत गरि ११ करोड ५८ लाखको लागत साझेदारीमा बुइपामा यलम्बरको सालिकसहितको पार्क निर्माण गरिएको हो । ३० रोपनीभन्दा बढी सरकारी जग्गामा ठड्याइएको सालिक हालसम्म बनेका यलम्बरको सालिकमध्येकै सबैभन्दा अग्लो र ठूलो दाबी गरिएको छ । तर उद्घाटनमा ‘तँछाडमछाड’ भएका कारण निर्माण सम्पन्न भएको वर्ष दिनसम्म पनि यलम्बर पार्क उद्घाटन हुन सकेको छैन ।

कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीको प्रमुख आतिथ्यतामा २०८२ जेठ १८ गते यलम्बरपार्क उद्घाटन गर्ने तयारी गरिएको थियो । तर कोशी प्रदेशको नामांकनको विषयमा असन्तुष्ट पहिचान पक्षधरको विरोधका कारण उद्घाटन कार्यक्रम रोकिएको थियो ।

उमा तुवाचुङ अन्सुवी जेभीले एलम्बर पार्क निर्माण गरेको हो । सो कम्पनीले २०७८ असार २८ गते ठेक्का सम्झौता गरेको थियो । आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाले विनियोजन गरेको ७२ लाखबाट बुइपामा पार्कको प्राथमिक चरणका काम सुरु गरिएको थियो । यलम्बरको सालिक तथा यलम्बार पार्क तत्कालिन मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले २०७८ कात्तिक ३ गते शिलान्यास गरेका थिए ।

Leave Your Comment

Related News