काठमाडौं ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न माइक्रो इन्स्योरेन्स तथा पुनर्बीमा कम्पनीका संस्थापक सेयर खरिदसँग सम्बन्धित प्रिमियम भुक्तानी कारोबारबारे विस्तृत विवरण माग गरेको छ।
विभागले जारी गरेको सूचनाअनुसार अनुसन्धानका क्रममा अध्ययन आवश्यक परेकाले सम्बन्धित संस्थापक सेयरधनीहरूलाई अतिरिक्त शुल्क (प्रिमियम) बापत गरिएको भुक्तानीको स्रोत तथा विवरण स्पष्ट रूपमा बुझाउन निर्देशन दिइएको हो।
सूचनामा वीमक नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभइन्स्योरेन्स, स्टार माइक्रोइन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स तथा हिमालयन रिइन्स्योरेन्स कम्पनीमा संस्थापक सेयर खरिद गर्ने लगानीकर्तालाई लक्षित गरिएको छ।
विभागले चुक्ता पूँजी बाहेक विभिन्न व्यक्ति तथा संस्थाका बैंक खातामा प्रिमियम स्वरूप जम्मा गरिएको रकमको विवरण-कसको नाममा, कुन बैंक खाता नम्बरमा र कुन वित्तीय संस्थामार्फत कारोबार भएको हो भन्ने स्पष्ट जानकारी माग गरेको छ।
सम्बन्धित सबैलाई सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र आवश्यक कागजात तथा विवरण विभागमा बुझाउन अनुरोध गरिएको छ।


