CLI

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युरोपेली संघबाट आयात हुने सवारीसाधनमा २५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्तादेखि युरोपेली संघ (ईयू) बाट आयात गरिने कार तथा ट्रकहरूमा भन्सार शुल्क (ट्यारिफ) बढाएर २५ प्रतिशत पुर्‍याउने चेतावनी दिएका छन । राष्ट्रपति ट्रम्पले शुक्रवार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत उक्त घोषणा गरेका हुन। युरोपेली संघले यसअघि दुई पक्षबीच भएको व्यापार सम्झौताको पूर्ण पालना नगरेका कारण आफूले यस्तो कदम चाल्न लागेको उनले उल्लेख गरे।

ट्रम्पले लेखेका  छन्, ‘युरोपेली संघले हाम्रो पूर्ण सहमतिको व्यापार सम्झौता पालना नगरेको तथ्यका आधारमा म यो घोषणा गर्दछु कि, आगामी हप्तादेखि अमेरिका भित्रिने ईयूका कार र ट्रकहरूमा लगाइने भन्सार शुल्क बढाएर २५ प्रतिशत पुर्‍याइनेछ ।’ यद्यपि, यदि ती सवारीसाधनहरू अमेरिकाकै उद्योगहरूमा उत्पादन गरिएमा भने कुनैपनि भन्सार शुल्क नलाग्ने उनले स्पष्ट पारेका छन  ।

यसअघि फेब्रुअरी महिनामा अमेरिकी सर्वोच्च अदालतले ‘अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन’ अन्तर्गत ट्रम्प प्रशासनले अघि सारेको भन्सार नीतिलाई असंवैधानिक ठहर गरेको थियो । तर वर्तमान प्रशासनले अन्य कानूनहरूको आधारमा नयाँ आयात कर प्रणाली स्थापित गर्ने प्रयास गरिरहेको छ । युरोपेली तथ्याङ्क निकाय ‘युरोस्ट्याट’ का अनुसार सन् २०२४ मा युरोपेली संघ र अमेरिकाबीचको वस्तु तथा सेवाको व्यापार १.७ ट्रिलियन युरो (करिब २ ट्रिलियन अमेरिकी डलर) पुगेको छ । यो तथ्याङ्क अनुसार दैनिक करिब ४.६ बिलियन युरो बराबरको कारोबार हुने गर्दछ ।

ट्रम्पको यस चेतावनीप्रति युरोपेली संघले सतर्कता व्यक्त गरेको छ। युरोपेली आयोगका प्रवक्ताले शुक्रवार प्रतिक्रिया दिँदै यदि अमेरिकाले गत वर्ष दुई पक्षबीच भएको पारस्परिक, निष्पक्ष र सन्तुलित व्यापार सम्बन्धी संयुक्त वक्तव्यको प्रतिकूल हुने गरी कुनै कदम चालेमा ईयूले आफ्नो हित रक्षाका लागि सबै विकल्पहरू खुला राख्ने बताउनुभएको छ ।

Leave Your Comment

Related News