काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले काठमाडौंस्थित टेकस्पायर कलेजमा “बागमती ओरिएन्टेसन सत्र” सफलतापूर्वक सम्पन्न गरेको छ । इन्क्युबेसन तथा उद्यमशीलता विकासलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा दर्ता भएका १५ टिममध्ये १२ टिमको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रम दिउँसो १:३० बजे सुरु भएको थियो । सहभागी उद्यमीहरूले आफ्ना व्यवसायिक अपेक्षा प्रस्तुत गर्दै सशक्त मेन्टरशिप, लगानी सहयोग तथा नीतिगत तहसम्म पहुँच सुनिश्चित गर्ने वातावरणको आवश्यकता औंल्याएका थिए ।
सत्रमा आईसीटी फाउन्डेसन नेपालकी सञ्चार अधिकारी कृष्पना पौडेलले संस्थासम्बन्धी प्रस्तुति दिँदै स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । त्यसपछि कार्यक्रम संयोजक रचना खरेलले व्यवसाय इन्क्युबेसन सेवाको उद्देश्य र कार्ययोजनाबारे जानकारी गराएकी थिइन् ।
उक्त कार्यक्रममा एग्रीपोर्टल, बिल्डाकार इन्नोभेसन्स, केयरगिभर म्यानेजमेन्ट सिस्टम, म्याच २४ ओर्बिटल्स, एमएस डिजिटल अटो सोलुसन प्रा. लि., नेपट्र्याक, नेक्स्ट कोर सिस्टम, रिटेल साथी, सम्पर्क डिजिटल लोयल्टी, सतकर्म टेक सोलुसन्स प्रा.लि., द भिजनारिज नेपाल र भेन्डिङ किङ प्रा.लि. लगायतका स्टार्टअप टोलीहरूको सहभागिता रहेको थियो ।
सत्रमा सहभागी टोलीहरूले आफ्नो परिचय दिँदै कम्पनी तथा स्टार्टअप आइडियाबारे २–३ मिनेटको प्रस्तुति दिएका थिए । त्यसपछि भएको अन्तरक्रियात्मक सत्रमा उद्यमी भुषण गिरीले आफ्नो अनुभव साझा गर्दै व्यवसायको कानुनी र वित्तीय पक्ष सुरुदेखि नै व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
उनले परिपूर्ण उत्पादनको प्रतीक्षामा समय खेर नफाल्दै प्रारम्भिक चरणमै काम अघि बढाउन सुझाव दिए । साथै, सह–संस्थापकबीच लक्ष्य र जिम्मेवारी स्पष्ट हुनुपर्ने र ओकेआर अवधारणालाई अपनाउनु पर्ने धारणा राखे । उनले इलेभेटर पिचको महत्त्वबारे पनि प्रकाश पारे ।
त्यसैगरी, रेशम भण्डारीले “आइडियालाई होइन, समाधानलाई प्रेम गर्नुपर्छ” भन्ने सन्देश दिँदै व्यवसायिक सोचलाई व्यवहारिकता र स्पष्टतासँग जोड्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा औद्योगिक उद्यम विकास संस्थान (IEDI) का इन्जिनियर उमेश गुप्ताले ७५ आवेदनमध्ये ४२ संस्था छनोट भएको र तीमध्ये आईसीटी फाउन्डेसन नेपाल पनि एक रहेको जानकारी दिए । उनले नेपाललाई आईटी इन्जिनियरहरूको देशका रूपमा विकास गर्ने उद्देश्यसहित यो पहल अघि बढाइएको बताए ।
टेकस्पायर कलेजका लक्ष्मण पोखरेलले कलेजले विगतदेखि नै यस्ता इन्क्युबेसन कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको उल्लेख गर्दै छनोट भएका टोलीहरूलाई शुभकामना दिएका थिए । कार्यक्रममा प्रश्नोत्तर तथा खुला छलफलसमेत गरिएको थियो । सत्र अपराह्न ४ बजे सम्पन्न भएको थियो ।
आईसीटी फाउन्डेसन नेपालले यस्ता ओरिएन्टेसन तथा इन्क्युबेसन कार्यक्रममार्फत प्रारम्भिक चरणका स्टार्टअपहरूलाई मेन्टरशिप, लगानी तयारी, व्यवसायिक विकास र नेटवर्किङका अवसर प्रदान गर्दै आएको छ । संस्थाका अनुसार यस पहलले बागमती प्रदेशमा नवप्रवर्तन र उद्यमशीलताको वातावरणलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।


