काठमाडौं । बिचुटेनले नेपालको पहिलो टियर आइभी डाटा सेन्टर निर्माण गर्ने भएको छ । बिचुटेनले नेपालको डिजिटल सार्वभौमिकतालाई सुरक्षित भविष्य निर्माणको संकल्प लिएर नेपालको पहिलो टियर आइभी डाटा सेन्टर निर्माण गर्न लागेको हो ।
बहिबार नेपाली उद्यमीहरू नवीन अग्रवाल, सौन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (किसाल ग्रुप) , विशाल कुमार जाटिया र शरद गोलको नेतृत्वमा रहेको यस स्वदेशी कम्पनीले नेपालको पहिलो टियर आइभी डाटा सेन्टर निर्माण गर्न घोषणा गरेको हो ।
बिचुटेन’ नाम भगवान विष्णुको जापानी बौद्ध नामबाट लिइएको हो, जसले ‘रक्षक’ को प्रतिनिधित्व गर्दछ । कम्पनीको मुख्य उद्देश्य नेपालको डिजिटल भविष्यलाई सुरक्षित र आत्मनिर्भर बनाउनु हो । यो पहलले नेपाललाई दक्षिण एसिया एक विशासनीय डिजिटल हबको रुपमा स्थापित गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
यो परियोजना काठमाडौं (साइट १) र वीरगन्ज (साइट २) गरी दुई रणनीतिक स्थानहरूमा २४० किलोवाट क्षमताबाट सुरु भई सन् २०३० सम्म यसलाई ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
परियोजनाका मुख्य विशेषताहरुः
यो नेपालकै पहिलो टियर-४ प्रमाणित डाटा सेन्टर हुनेछ, जसले ९९.९९५% अपटाइम (Uptime) को सुनिश्चितता प्रदान गर्दछ। यसको अर्थ वर्षभरिमा २६ मिनेटभन्दा कम मात्र प्राविधिक अवरोध हुन सक्छ, जसले बैंकिङ र दूरसञ्चार जस्ता संवेदनशील क्षेत्रका लागि उच्चतम विश्वसनीयता प्रदान गर्ने कम्पनीको भनाइ छ।
यसका लागि विश्वव्यापी साझेदारी गरिएको छ। कम्पनीका अनुसार प्रविधि र विशेषज्ञताका लागि भीभीडीएन (VVDN), गुगल क्लाउड, एएमडी र माइक्रोनजस्ता प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरिएको हो। यसले स्वदेशी प्रविधि र रोजगारीमा योगदान पुर्याउनेछ।
डिजिटल सार्वभौमिकता र सुरक्षा डाटा नै कृत्रिम बौदधिकता (AI) र डिजिटल रूपान्तरणको आधार हो भन्ने मान्यताका साथ विघुटन डाटा भोल्टले नेपालको डाटा नेपालभित्र सुरक्षित राख (In-country Data Residency) सुनिश्चित गर्नेछ । यसले विदेशी सर्भरमाथिको निर्भरता कम गरी राष्ट्रिय सुरक्षा र साइवर प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउनेछ ।
यो डाटा सेन्टर ऊर्जा दक्ष र पूर्णतया नेपालको जलविद्युतमा आधारित हुनेछ, जसले दिगो र वातावरणमैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने कम्पनीको दाबी छ।


