काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको विद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक विवरण लिन थालिएको छ ।
सङ्घीय संसद्का सभाका बैठकमा उपस्थितिको विद्युतीय माध्यमबाट अभिलेख राख्ने प्रयोजनका लागि सङ्घीय संसद्का सबै सदस्यको बायोमेट्रिक विवरण सङ्कलन गर्न थालिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
आज पहिलो दिन १०३ जना सांसदले बायोमेट्रिक विवरण दिएका छन् । सचिवालयले त्यस प्रयोजनका लागि यही वैशाख २४, २५ र २८ गतेका दिन निर्धारण गरेको सूचनामार्फत यसअघि नै जानकारी गराइसकेको छ ।
हाजिरीका लागि मात्र नभई दीर्घकालीन सोचसहित अघि बढाइएको यस कार्यबाट दुवै सभामा हुने मतदान, प्रस्तावको निर्णय, विधेयक र शुन्य समयमाथिको छलफलमा भाग लिने सांसदको नाम तुरुन्तै यकिन गर्न तथा पारदर्शीता र कार्य सम्पादनमा सहजता हुने जनाइएको छ ।
यसको प्रयोगको सुरुआत यही वैशाख २८ गतेदेखि हुने संसद् अधिवेशनमा हुनेछ ।


