काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले शर्मालाई सो पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा उजुरी दिन सार्वजनिक आह्वान गरेको हो ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले शर्माविरुद्ध उजुरी आह्वान गरेको हो ।
यसअघि बिहीवार बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो ।
समितिले शनिबार सूचना जारी गर्दै प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको छ । उजुरी दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट खुलाउनुपर्नेछ । यद्यपि, उजुरीकर्ताले चाहेमा उसको नाम गोप्य राखिने छ ।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण र क्षमताको परीक्षण गरेपछि मात्रै नियुक्तिको प्रक्रिया अघि बढ्ने संवैधानिक व्यवस्था छ ।
उजुरी प्राप्त भएमा समितिले ती उजुरीमाथि छलफल र छानबिन गर्नेछ र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष सुनुवाइ गर्नेछ ।


