काठमाडौं । अमेरिकाले भेनेजुएलाबाट १३.५ किलो ‘उच्च सम्बर्धित युरेनियम’ हटाएको छ । यो युरेनियम धेरै वर्षदेखि त्यहाँको एउटा पुरानो अनुसन्धान रिएक्टरमा राखिएको थियो । उक्त युरेनियमलाई भेनेजुएलाको राजधानी काराकासनजिकै रहेको साइटबाट हटाएर सुरक्षित रूपमा अमेरिका पठाइएको हो । यो ‘अपरेसन’ अमेरिका, भेनेजुएला, बेलायत र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले मिलेर गरेका हुन् ।
अमेरिकी ऊर्जा विभागका अनुसार, युरेनियमलाई जमिन र समुद्रमार्ग हुँदै अमेरिका पु¥याइएको छ । यसलाई अब दक्षिण क्यारोलाइनाको सवाना रिभर आणविक साइटमा प्रशोधन गरिनेछ । अमेरिकी नेसनल न्युक्लियर सेक्युरिटी एडमिनिस्ट्रेसन एजेन्सीले यो अपरेसन दक्षिण अमेरिका र अमेरिकाको सुरक्षाका निम्ति महत्त्वपूर्ण रहेको जनाएको छ । एजेन्सीका अनुसार, भेनेजुएलाको आरभी–१ अनुसन्धान रिएक्टर दशकौँसम्म आणविक अनुसन्धानका निम्ति प्रयोग गरिन्थ्यो । सन् १९९१ मा अनुसन्धान बन्द भएपछि पनि त्यहाँ उच्च सम्बर्धित युरेनियम राखिएको थियो ।
अमेरिकी अधिकारीका अनुसार, यो कार्य ६ हप्ताभन्दा कम समयमा पूरा गरिएको थियो । युरेनियमलाई विशेष कन्टेनरमा ‘प्याक’ गरिएको थियो । त्यसपछि करिब १०० माइल सडकमार्ग हुँदै बन्दरगाहसम्म लगियो । त्यहाँबाट बेलायतको न्युक्लियर ट्रान्सपोर्ट सोलुसन्स कम्पनीको जहाजमार्फत अमेरिका पठाइएको थियो । अमेरिकी नेसनल न्युक्लियर सेक्युरिटी एडमिनिस्ट्रेसन एजेन्सीका डेपुटी एडमिनिस्ट्रेटर डा. म्याट नेपोली पनि यो मिसनको अनुगमनका निम्ति भेनेजुएला पुगेका थिए । उनले टोलीको अनुभवका कारण यो अपरेसन सफल भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पनि अपरेसनको पुष्टि गरेको छ । एजेन्सीले यसलाई जटिल र संवेदनशील अपरेसन भनेको छ ।
नेसनल न्युक्लियर सेक्युरिटी एडमिनिस्ट्रेसनका अनुसार, सन् १९९६ देखि हालसम्म एजेन्सीले विश्वका विभिन्न देशबाट सात हजार ३५० किलोभन्दा बढी उच्च सम्बर्धित युरेनियम र प्लुटोनियम हटाउने वा सुरक्षित गर्ने काम गरिसकेको छ । रिपोर्टका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लामो समयदेखि इरानसँग रहेको उच्च सम्बर्धित युरेनियमका विषयमा दबाब दिइरहेको छ । इरानसँग यस्तो करिब ४०८ किलो युरेनियम रहेको बताइन्छ । यद्यपि, अमेरिका हालसम्म त्यसलाई हटाउन सफल भएको छैन ।
अमेरिका र भेनेजुएलाको सम्बन्धमा पनि परिवर्तन देखिएको छ । हालैका महिनामा सीआईए निर्देशक जोन रेटक्लिफलगायत धेरै अमेरिकी अधिकारी भेनेजुएला पुगेका छन् । सात वर्षपछि दुई देशबीच व्यावसायिक उडान पनि सुरु भएको छ । अमेरिकी दूतावास समेत पुनः खोलिएको छ । भेनेजुएला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएका देशमध्ये एक हो । अमेरिकाले अब त्यहाँ ऊर्जा र खानी क्षेत्रमा व्यापार बढाउने प्रयास गरिरहेको जनाइएको छ । केही लोकतन्त्र समर्थकले ट्रम्प प्रशासनको यो नीतिको आलोचना पनि गरिरहेका छन् ।


