काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने प्रयासमा प्रगति हुन नसकिरहेका बेला कतारको ग्यास बोकेको एक ट्यांकर स्ट्रेट अफ होर्मुजतर्फ अघि बढेको छ । यसले युद्धग्रस्त क्षेत्रमा कूटनीतिक प्रयास र समुद्री सुरक्षालाई लिएर नयाँ चासो बढाएको छ ।
अमेरिका र इरानबीच दुई महिनाभन्दा लामो युद्ध अन्त्य गर्ने प्रयास जारी रहे पनि हालसम्म कुनै ठोस प्रगति देखिएको छैन। स्ट्रेट अफ होर्मुज क्षेत्रमा केही दिनदेखिका छिटपुट झडपपछि आइतबार अवस्था तुलनात्मक रूपमा शान्त देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनले इरानबाट चाँडै जवाफ आउने अपेक्षा गरेको बताएका थिए। तर इरानले अमेरिकी प्रस्तावबारे अझै औपचारिक प्रतिक्रिया दिएको छैन। प्रस्तावमा पहिले युद्ध अन्त्य गर्ने र त्यसपछि इरानको आणविक कार्यक्रमलगायत विवादित विषयमा वार्ता गर्ने योजना रहेको बताइएको छ।
यसबीच, कतारको तरलीकृत प्राकृतिक ग्यास बोकेको एक ट्यांकर पाकिस्तानतर्फ जाँदै स्ट्रेट अफ होर्मुज नजिक पुगेको छ। जहाज निगरानीसम्बन्धी तथ्यांकअनुसार उक्त यात्रा इरानको स्वीकृतिमा भएको र यसले कतार तथा पाकिस्तानसँग विश्वास निर्माण गर्ने उद्देश्य राखेको स्रोतहरूले बताएका छन् ।
यदि यात्रा सफल भयो भने, फेब्रुअरी २८ मा अमेरिका र इजरायलले युद्ध सुरु गरेपछि स्ट्रेट अफ होर्मुज पार गर्ने यो पहिलो कतारी ग्यास ट्यांकर हुनेछ।
युद्धअघि विश्वको करिब पाँच भागको एक भाग तेल आपूर्ति यही जलमार्गबाट हुने गरेको थियो। हाल इरानले धेरैजसो गैर-इरानी जहाजहरूको आवतजावतमा रोक लगाएको छ।
पछिल्ला दिनहरूमा स्ट्रेट अफ होर्मुज क्षेत्रमा अमेरिकी र इरानी सैन्य गतिविधि बढेको छ। इरानी समाचार एजेन्सी फार्सका अनुसार शुक्रबार इरानी फौज र अमेरिकी जहाजबीच छिटपुट भिडन्त भएको थियो । अमेरिकी सेनाले भने इरानसँग सम्बन्धित दुई जहाजलाई इरानी बन्दरगाह प्रवेश गर्न नदिएको जनाएको छ।
यसैबीच, अमेरिकी गुप्तचर संस्था सीआईएको मूल्यांकनमा अमेरिकी नाकाबन्दीले इरानलाई तत्काल ठूलो आर्थिक दबाब नपार्ने उल्लेख गरिएको समाचार सार्वजनिक भएको छ । तर अमेरिकी अधिकारीहरूले उक्त दाबी अस्वीकार गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अझै कायम रहेको बताएका छन् भने इरानले अमेरिका स्वयंले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले “कूटनीतिक समाधानको सम्भावना देखिनेबित्तिकै अमेरिका सैन्य कदमतर्फ जान्छ” भन्दै वासिङ्टनको आलोचना गरेका छन्।
यता, बेलायतले स्ट्रेट अफ होर्मुज क्षेत्रमा अन्तर्राष्ट्रिय जलमार्ग सुरक्षाका लागि युद्धपोत पठाउने तयारी गरेको जनाएको छ। फ्रान्ससँग मिलेर बेलायतले बहुराष्ट्रिय सुरक्षा अभियानको योजना अघि बढाइरहेको बताइएको छ।


