काठमाडौं । सोमबार बस्न लागेको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमै विपक्षी दलहरूले सरकारमाथि प्रतिवादको तयारी गरेका छन् ।
वर्षे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो २ बजे बस्ने कार्यतालिका आएसँगै विपक्षी दलहरू सरकारको प्रतिरोधमा उत्रिने तयारीमा जुटेका हुन् ।
यस बैठकमा संसद बैठक आह्वान, संवैधानिक परिषद्लगायत सरकारद्वारा जारी अध्यादेश र सुकुमबासीको व्यवस्थापनका नाममा गरिएको ज्यादतीलाई लिएर विपक्षीहरूले सामूहिक प्रतिवादको तयारी गरेका हुन्।
विपक्षी दलहरुले सरकारले आफूखुशी अनुरुप संसद बैठक आह्वान गरेको आरोप सत्तापक्षलाई लगाएका छन् । त्यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका प्रतिपक्षी दलहरू एकमत देखिएका छन् । सरकारविरुद्ध एकजुट हुनका लागि कांग्रेस, नेकपा एमाले र नेकपाका नेताहरूबीच आन्तरिक छलफल पनि भएको छ।
सोमबारका लागि सरकारले प्रतिनिधिसभाका तीनवटा बैठक बोलाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने कार्यतालिका भएको छ।
पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको सरकार स्वेच्छाचारी बन्दै आएको आरोप विपक्षीहरूले लगाइरहेका छन् । उनीहरूले सरकारलाई दबाब दिन सामूहिक रुपमा संसद्मा विपक्षी आवाज उठाउन लागेका हुन् ।


