हङकङ । चीनको घरेलु कार बजार लगातार कमजोर बन्दै गइरहेका बेला त्यहाँका अटो उत्पादकहरूले विदेशतर्फ आक्रामक विस्तार गरिरहेका छन् । यही रणनीतिक विस्तारको प्रभावस्वरूप अप्रिल महिनामा चीनको यात्रुवाहक कार निर्यात करिब ८५ प्रतिशतले उकालो लागेको छ । विशेषगरी विद्युतीय तथा नयाँ ऊर्जा सवारीसाधनको माग विश्व बजारमा तीव्र रूपमा बढ्दा चिनियाँ अटो उद्योगले निर्यातमार्फत नयाँ गति समातेको देखिएको छ ।
चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्स (सीएएएम) ले सोमबार सार्वजनिक गरेको विवरणअनुसार अप्रिलमा चीनबाट करिब सात लाख ९६ हजार यात्रुवाहक सवारीसाधन निर्यात भएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झन्डै ८५ प्रतिशत बढी हो । मार्च महिनामा निर्यात भएका सात लाख ४८ हजार सवारीसाधनको तुलनामा पनि अप्रिलको निर्यात उच्च रहेको तथ्याङ्कले देखाएको छ । नयाँ ऊर्जा सवारीसाधनतर्फ अझ तीव्र वृद्धि देखिएको छ ।
ब्याट्रीबाट चल्ने विद्युतीय गाडी र प्लग–इन हाइब्रिडसहितका नयाँ ऊर्जा यात्रुवाहक सवारीको निर्यात अप्रिलमा १२० प्रतिशतभन्दा बढीले बढेर करिब चार लाख २० हजार युनिट पुगेको छ । विश्व बजारमा पेट्रोलियम इन्धनको बढ्दो लागत र वातावरणमैत्री प्रविधिप्रतिको आकर्षणले चिनियाँ विद्युतीय गाडीको माग बढाउन सहयोग पुगेको विश्लेषण गरिएको छ । तर घरेलु बजारको अवस्था भने निराशाजनक बनेको छ ।
सीएएएमका अनुसार चीनभित्र यात्रुवाहक कार बिक्री गत वर्षको तुलनामा २५ दशमलव ५ प्रतिशतले घटेर १३ लाख सवारीसाधनमा सीमित भएको छ । वार्षिक आधारमा कार बिक्री घटेको यो लगातार छैटौँ महिना हो । विश्लेषकहरूका अनुसार नयाँ ऊर्जा सवारीसाधन खरिदमा सरकारले दिँदै आएको सहुलियत र अनुदान कटौती गरिनु घरेलु माग कमजोर हुनुको मुख्य कारण बनेको छ । त्यससँगै लामो समयदेखि जारी रियल स्टेटको मन्दी र अनिश्चित आर्थिक अवस्थाले पनि उपभोक्तालाई नयाँ गाडी खरिदमा सतर्क बनाएको बताइएको छ । चिनियाँ अटो उद्योगभित्रको प्रतिस्पर्धा पनि अत्यन्तै तीव्र बन्दै गएको छ ।
गत महिना आयोजित बेइजिङ अटो शोमा एक हजार चार सय ५० भन्दा बढी सवारीसाधन प्रदर्शन गरिएको थियो । कार्यक्रममा कृत्रिम बौद्धिकता (एआई) प्रविधि समावेश गरिएका स्मार्ट कारदेखि अत्याधुनिक अल्ट्राफास्ट चार्जिङ ब्याट्रीसम्मका नयाँ प्रविधि सार्वजनिक गरिएका थिए । यसले चीनका अटो उत्पादकहरू प्रविधि र नवप्रवर्तनमा आक्रामक रूपमा अघि बढिरहेको सङ्केत गरेको छ । केही विश्लेषकहरूले भने वर्षको उत्तरार्धमा घरेलु बजारमा सुधार आउन सक्ने अनुमान गरेका छन् ।
परामर्शदाता संस्था एलिक्सपार्टनर्सका अटोमोटिभ अभ्यास साझेदार यिचाओ झाङका अनुसार यस वर्ष थप नयाँ मोडल बजारमा आउने तयारीमा छन् र सरकारी अनुदान संरचनामा भएका परिवर्तनप्रति उपभोक्ता क्रमशः अभ्यस्त हुँदै जाँदा नयाँ गाडी खरिद बढ्न सक्ने सम्भावना छ । विदेशी बजारमा भने चिनियाँ ब्रान्डहरूको प्रभाव उल्लेखनीय रूपमा फैलिरहेको छ ।
बीवाइडी र गीली अटोजस्ता प्रमुख चिनियाँ कम्पनीहरूले युरोप, ल्याटिन अमेरिका र दक्षिणपूर्वी एसियासहित विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन् । निर्यात मात्र नभई केही कम्पनीहरूले विदेशमै उत्पादन क्षमता विस्तार गर्न कारखाना स्थापना गर्न थालेका छन् । विशेषगरी बीवाईडीले युरोप र ल्याटिन अमेरिकामा उत्पादन केन्द्र निर्माण गर्ने योजनालाई तीव्रता दिएको छ ।
इरानसँगको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्न थालेपछि विद्युतीय सवारीसाधनतर्फ विश्वव्यापी आकर्षण झन् बढ्ने अपेक्षा गरिएको छ । अस्ट्रेलियाको फेडेरल चेम्बर अफ अटोमोटिभ इन्डस्ट्रिजका अनुसार अप्रिलमा बिक्री भएका प्रत्येक छमध्ये एक नयाँ सवारी विद्युतीय गाडी थियो । त्यहाँ बीवाइडी टोयोटापछि दोस्रो सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड बनेको छ ।
एस एन्ड पी ग्लोबल रेटिङ्सकी अटो विश्लेषक क्लेयर युआनले तेल तथा इन्धनको मूल्य लामो समयसम्म उच्च रहने सम्भावना देखिएकाले त्यसले उपभोक्तालाई विद्युतीय गाडी खरिद गर्न प्रोत्साहित गर्ने बताए । उनका अनुसार त्यसको प्रत्यक्ष लाभ चिनियाँ विद्युतीय सवारी निर्यातलाई पुग्नेछ । एलिक्सपार्टनर्सले सन् २०२६ मा चीनको समग्र यात्रुवाहक कार निर्यात करिब २० प्रतिशतले बढ्न सक्ने अनुमान गरेको छ । दक्षिणपूर्वी एसियासहितका उदीयमान बजारमा चिनियाँ अटो कम्पनीहरूले आक्रामक विस्तार गरिरहेका कारण निर्यात वृद्धि निरन्तर रहने प्रक्षेपण गरिएको हो ।
यसबीच चिनियाँ विद्युतीय सवारी आयातसम्बन्धी विषयमा बेइजिङले युरोपेली सङ्घ (इयु) र क्यान डासँग पनि छलफल अघि बढाइरहेको छ । यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणका क्रममा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने व्यापार वार्तालाई अटो उद्योगले विशेष चासोका साथ हेरिरहेको छ । अमेरिकाले भने चिनियाँ विद्युतीय गाडीप्रति कडा रक्षात्मक नीति अपनाइरहेको छ । पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनले सन् २०२४ मा चिनियाँ विद्युतीय सवारीसाधनमा १०० प्रतिशत भन्सार शुल्क लगाएपछि अमेरिकी बजारमा चिनियाँ अटो उत्पादकहरूको पहुँच प्रभावकारी रूपमा अवरुद्ध भएको छ ।


