CLI

दलित आन्दोलनको नाममा राजनीतिक सौदाबाजी भएको आरोप, हाम्रो पार्टी नेपाल पुनः सक्रिय

काठमाडौं । दलित, सिमान्तकृत तथा पछाडि पारिएका समुदायको हक–अधिकारको पक्षमा आवाज उठाउँदै आएको “हाम्रो पार्टी नेपाल” लामो राजनीतिक संघर्षपछि पुनः सक्रिय हुने घोषणा गरेको छ। पार्टीका नेताहरूले पछिल्लो समय दलित आन्दोलन कमजोर बन्दै जानुको मुख्य कारण ठूला राजनीतिक दलहरूको स्वार्थ र आन्दोलनलाई सत्ता केन्द्रित बनाउने प्रवृत्ति भएको आरोप लगाएका छन्।

पार्टीका सभापति खगेन्द्र सुनार र उपसभापति नमिता यादव ले संयुक्त रूपमा दलित आन्दोलनलाई सत्ता र पदसँग साटिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वप्रति प्रश्न उठाउँदै दलित समुदायको मुद्दालाई चुनावी नारामा मात्रै सीमित गरिएको आरोप लगाएका हुन्।

पछिल्लो समय देशभर दलितमाथिका विभेद, आक्रमण र अन्यायका घटनाहरू बढ्दै गइरहेका बेला सरकार र मुख्य राजनीतिक दलहरू उदासीन बनेको दलित अभियन्ताहरूको भनाइ छ। बहुमतको सरकारमा सहभागिता जनाए पनि रास्वपाले व्यवहारमा दलित समुदायको पक्षमा ठोस काम गर्न नसकेको आरोप उनीहरूको छ।

पार्टी उपसभापति केशव परियारले भने, “हाम्रो पार्टीका सभापति नै घण्टी चुनाव चिह्नबाट निर्वाचित हुनुभयो, तर दलितमाथिको अन्याय झन् बढेको छ। हामी सत्ता भोगका लागि होइन, दलित समुदायको अधिकारका लागि राजनीति गरिरहेका छौं।”

परियारले थप आरोप लगाउँदै भने, “एक थान सांसद दिएर दलित आन्दोलनलाई भड्काउने र कमजोर बनाउने काम भयो। आन्दोलनलाई सशक्त बनाउने नाममा केही नेताहरू व्यक्तिगत लाभतर्फ केन्द्रित भए।” उनले दलित आन्दोलनलाई मूल मुद्दाबाट विचलित गरिएको दाबी समेत गरे।

त्यस्तै, पार्टी नेताहरूले रवि लामिछाने नेतृत्वको रास्वपाले सार्वजनिक भाषणमा समावेशीता र परिवर्तनको कुरा गरे पनि व्यवहारमा त्यसको अनुभूति हुन नसकेको आरोप लगाएका छन्। “मुखले समानताको कुरा गर्ने तर व्यवहारमा दलित समुदायलाई उपेक्षा गर्ने प्रवृत्तिले आम दलित समुदाय निराश बनेको छ,” एक नेताले बताए।

यता रास्वपाको तर्फबाट भने यी आरोपहरूबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय दलित आन्दोलनभित्र देखिएको विभाजन र असन्तुष्टिले आगामी राजनीतिक समीकरणमा प्रभाव पार्न सक्ने देखिएको छ।

Leave Your Comment

Related News