काठमाडौं । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी एस-६ ईभी सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार एक भब्साय समारोहकाबीच सो मोटरको सावर्जानिक गरिएको हो ।
सार्वजनिक गरिएको गाडि एमजी एस६ मा १८० किलोवाटको मोटेर र ७७ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । कार ५.१ सेकेन्डमा १०० किलोमिटरको गति लिन सक्षम छ ।
यसमा रहेको रियर ह्विल ड्राइभले २४४ हर्सपावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । यसले एक पटकको फुल चार्जमा करीब ५२९ किलोमिटरको रेन्ज प्रदान गर्छ, जुन उक्त किलोमिटरमा डब्लुएलटीपी वर्ल्डवाइड हार्मोनाइज्ड लाइट–ड्युटी भेइकल्स टेस्ट प्रोसेड्युएर भेरिफाइड रहेको जनाएको छ । १५० किलोवाट अल्ट्रा फास्ट चार्जरबाट १०–८० प्रतिशत चार्ज ३८ मिनेट हुने बताए ।
उक्त ईभी एमजीको मोड्युलर स्केलेबल प्लेटफर्ममा आधारित छ । जसमा चर्चित एमजी ४ ईभी पनि निर्माण गरिएको छ । कम्पनीकाअनुसार यसको डिजाइन निकै तीखो र आक्रामक देखिन्छ, जसमा एमजीको साइबरस्टर रोडस्टरबाट प्रेरित एंगुलर हेडल्याम्प र आकर्षक फेसिया प्रयोग गरिएको छ । गाडीको पछाडिको भागमा पूर्ण चौडाइको एलईडी लाइट बार दिइएको छ ।
यो गाडीको इन्टेरियरमा प्रविधि र सुविधाको उत्कृष्ट मिश्रण रहेको कम्पनीको दाबी छ । यसमा १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले जडेको छ । आधुनिक टच इन्टरफेसका बीचमा पनि मुख्य कार्यहरूका लागि फिजिकल कन्ट्रोलहरू कायमै राखिएको छ, जसले ड्राइभिङका क्रममा सहजता प्रदान गर्ने बताइएको छ ।
कम्पनीका अनुसार यसमा ६७४ लिटरको बुट स्पेस छ । जसलाई पछाडिका सिटहरू फोल्ड गरेर १,९१० लिटरसम्म बढाउन सकिन्छ । साथै, चार्जिङ केबल वा साना सामान राख्नका लागि अगाडि १२४ लिटरको फ्रन्ट ट्रंक पनि दिइएको छ ।
सुरक्षाका दुष्टिकोणले पनि एमजीको नयाँ ईभीलाई सुरक्षित मानिएको छ । सुरक्षाका लागि कारले ५ स्टार एनक्याप रेटिङ प्राप्त गरेको छ ।
यस बाहेकका सुविधाहरूमा यो ईभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट रहेको छ । ११ स्पिकर अडियो सिस्टम र प्यानोरामिक सनरुफ छन् । साथै, युट्युब जस्ता इन–बिल्ट स्ट्रिमिङ एपहरू र वायरलेस चार्जिङ सुविधा छन् ।
गाडीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साथै, ‘एमजी एस-६’ छवटा फरक रङ मा उपलब्ध हुनेछ।



