CLI

ट्रम्पले इरानको शान्ति प्रस्तावलाई ‘कबाड’ भने, कूटनीतिक संकट गहिरिँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानद्वारा प्रस्तुत पछिल्लो शान्ति प्रस्तावलाई कडा आलोचना गर्दै “पूर्ण रूपमा अस्वीकार्य” र “कबाड” भनेका छन्। यो अभिव्यक्ति अलजजिरा लाइभ अपडेटमा समेटिएको रिपोर्टमा उल्लेख गरिएको हो ।

उक्त रिपोर्ट अनुसार ट्रम्पले इरानसँगको युद्धविराम अहिले “जिवन–समर्थनमा” रहेको संकेत गरेका छन्। यसले इरान–अमेरिका बीचको शान्ति प्रक्रिया अत्यन्त कमजोर अवस्थामा पुगेको र दुवै पक्षबीचको विश्वास झन् घट्दै गएको देखाएको छ ।

विश्लेषकहरूका अनुसार पछिल्ला टिप्पणीहरूले कूटनीतिक वार्तामा थप जटिलता ल्याउने सम्भावना बढाएको छ। यसअघि पनि इरान र अमेरिकाबीच विभिन्न चरणका वार्ता प्रयास भए पनि ठोस सहमतिमा पुग्न सकेका थिएनन् ।

यसैबीच, खाडी क्षेत्रदेखि लिएर अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्म यस द्वन्द्वको असर देखिन थालेको छ । युद्ध लम्बिँदै जाँदा कूटनीतिक समाधानभन्दा सैन्य र राजनीतिक तनाव अझै गहिरिँदै गएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।

इरान, अमेरिका र इजरायलबीचको जारी युद्धले मध्यपूर्वलाई गहिरो अस्थिरतामा धकेलेको छ। पछिल्ला घटनाक्रमहरूले यो संकट केवल क्षेत्रीय मात्र नभई विश्वव्यापी प्रभाव पार्ने स्तरमा पुगेको स्पष्ट देखिन्छ । युद्धविराम र शान्ति वार्ताका प्रयासहरू भइरहे पनि राजनीतिक अडानहरू टाढा–टाढा हुँदा समाधानको सम्भावना कमजोर बन्दै गएको छ।

खाडी क्षेत्रका देशहरू पनि तनावमा छन्। कतारले इरानले Hormuz जलमार्गलाई “हथियार” का रूपमा प्रयोग गर्दै खाडी मुलुकहरूलाई दबाब र ब्ल्याकमेल गर्ने प्रयास गरेको आरोप लगाएको छ। यो जलमार्ग विश्वको ऊर्जा आपूर्तिको प्रमुख मार्ग भएकाले यहाँको अवरोधले तेल र ग्यास आपूर्ति शृंखलामा गम्भीर असर पारेको छ।

अमेरिकामा पनि यो युद्धको प्रभाव राजनीतिक रूपमा देखिन थालेको छ। रक्षा मन्त्रालयका अधिकारीहरूले कंग्रेसमा इरान युद्ध र यसको दीर्घकालीन असरबारे जवाफ दिनुपर्ने अवस्था आएको छ। युद्धको अवधि लामो हुँदै जाँदा राजनीतिक बहस तीव्र बनेको छ र ठूलो रक्षा बजेट प्रस्तावले थप विवाद सिर्जना गरेको छ।

क्षेत्रीय रूपमा, लेबनानमा इजरायल र हिजबुल्लाहबीचको संघर्ष अझै जारी छ। दक्षिण लेबनानमा लगातार हवाई आक्रमण भइरहेका छन्, जसले ठूलो मानवीय क्षति पुर्‍याइरहेको छ। संयुक्त राष्ट्रसंघले पनि पश्चिम किनारामा बालबालिकामाथि परेको असरलाई “असहनीय” भन्दै चिन्ता व्यक्त गरेको छ।

इरानभित्र भने स्थिति अझै जटिल छ । युद्ध सुरु भएदेखि देशमा करिब ७४ दिनदेखि इन्टरनेटमा ठूलो अवरोध रहेको छ, जसले जनजीवन, व्यवसाय र सूचनाको प्रवाहमा गम्भीर असर पारेको छ। सरकारका अनुसार अवस्था सामान्य भएपछि मात्र इन्टरनेट सेवा पुनः सुचारु हुनेछ।

यसैबीच, युद्धको असर विश्व अर्थतन्त्रमा पनि स्पष्ट देखिएको छ। तेल आपूर्तिमा अवरोध, ऊर्जा मूल्य वृद्धि, र सप्लाई चेन संकटका कारण चीनदेखि जापानसम्मका उद्योगहरू प्रभावित भएका छन्। जापानको एक प्रमुख स्न्याक कम्पनीले समेत कच्चा पदार्थ अभावका कारण उत्पादन र प्याकेजिङमा परिवर्तन गर्नुपरेको छ।

खाडी मुलुकहरूमा ऊर्जा पूर्वाधारमा समेत असर परेको छ । संयुक्त अरब इमिरेट्स (UAE) को ठूलो ग्यास उत्पादन केन्द्र अझै पूर्ण क्षमतामा फर्किन सकेको छैन, जसले आगामी वर्षहरूमा ऊर्जा आपूर्तिमा दबाब बढाउने देखिन्छ।

 

Leave Your Comment

Related News