CLI

टोखा नगरपालिकाद्वारा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा

काठमाडौं । टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सुरु गरेको बजार अनुगमनका क्रममा ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ बमोजिम वैशाख २५ गतेदेखि नगरभित्रका ११ वटै वडामा बजार अनुगमन गर्नुका साथै ४६ वटा पसललाई कारबाही गरेको छ ।

नगरपालिका, नगर प्रहरी, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, पशु सेवा कार्यालय, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, उद्योग वाणिज्य सङ्घ टोखा र उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा बजार अनुगमन गरिएको थियो ।

टोखाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले अनुगमनका क्रममा धेरैजसो व्यवसायीले व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन गरेको भेटिएको जानकारी दिए ।

बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामान बिक्रीका लागि राखिएको, पसलहरूमा मूल्यसूची नराखिएको, मासु पसलमा सरसफाइको चरम अभाव रहेको र न्यूनतम मापदण्डसमेत पालना नगरेको पाइएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।

अनुगमनका क्रममा ६ वटा पसललाई एक हजारदेखि ५० हजारसम्म जरिवना गरिएको, ३९ वटा माछा÷मासु पसल, दूध डेरी, भेटेरिनरी औषधि पसल, हस्तकला र खाद्यान्न पसललाई सचेत गराइएको र एक पसललाई बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

Leave Your Comment

Related News