CLI

जापानमा ब्याजदर बढ्ने संकेत, सन् २०२७ सम्म २ प्रतिशत पुग्न सक्ने

काठमाडौं । जापानको अर्थतन्त्र अहिले ऐतिहासिक मोडमा पुगेको छ । करिब तीन दशकसम्म अत्यन्त कम ब्याजदर, कमजोर मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिसँग संघर्ष गरेको जापान अब विस्तारै नयाँ आर्थिक चरणतर्फ अघि बढिरहेको देखिएको छ।

आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार जापानको केन्द्रीय बैंक “बैंक अफ जापान” ले हालको ०.७५ प्रतिशत रहेको अल्पकालीन ब्याजदरलाई बढाउँदै सन् २०२७ को अन्त्यसम्म २ प्रतिशत पुर्‍याउन सक्ने अनुमान गरिएको रोयटर्सले जनाएको छ ।

यो प्रक्षेपणलाई अन्तर्राष्ट्रिय बजारले निकै महत्त्वका साथ हेरेको छ, किनभने जापान लामो समयसम्म शून्य वा ऋणात्मक ब्याजदरको नीतिमा आधारित विश्वकै सबैभन्दा नरम मौद्रिक नीति अपनाउने देशमध्ये एक थियो । अहिले भने परिस्थितिमा ठूलो परिवर्तन आएको संकेत देखिन थालेको छ ।

किन बढ्दैछ ब्याजदर?

ओईसीडीका अनुसार जापानमा अहिले मुद्रास्फीति केवल बाह्य कारणले मात्र होइन, आन्तरिक आर्थिक गतिविधिका कारण पनि बढ्न थालेको छ । सुरुमा ऊर्जा, तेल तथा आयातित वस्तुको मूल्य बढ्दा मुद्रास्फीति बढेको थियो । तर अहिले श्रमिक अभावका कारण तलब वृद्धि हुन थालेको छ, जसले उपभोग र घरेलु मागलाई बलियो बनाएको छ।

जापान लामो समयसम्म “डिफ्लेसन” अर्थात् मूल्य घट्ने समस्याबाट पीडित थियो । मानिसहरूले खर्च गर्नुभन्दा बचत गर्न रुचाउने, कम्पनीहरूले तलब नबढाउने र वस्तुको मूल्य स्थिर रहने अवस्था धेरै वर्षसम्म कायम रह्यो । त्यसैले बैंक अफ जापानले अर्थतन्त्र चलायमान बनाउन ब्याजदर लगभग शून्यमा राखेको थियो ।

तर अहिले अवस्था फेरिएको छ। जापानका धेरै कम्पनीहरूले तलब बढाउन थालेका छन् । श्रमिकको अभाव बढ्दै गएको छ। बजारमा वस्तु तथा सेवाको मूल्य निरन्तर बढिरहेको छ । यसले जापान अब “मुद्रास्फीति युग” मा प्रवेश गरिरहेको संकेत दिएको विश्लेषण गरिएको छ।

बैंक अफ जापानभित्र पनि कडा धारणा बढ्दै

बैंक अफ जापानका बोर्ड सदस्य काजुयुकी मासुले हालै दिएको वक्तव्यले बजारलाई थप चकित बनाएको छ। उनले आर्थिक मन्दीको स्पष्ट संकेत नदेखिए ब्याजदर सकेसम्म छिटो बढाउनुपर्ने बताएका छन् ।

उनका अनुसार जापान अब डिफ्लेसनबाट बाहिर निस्किसकेको छ र अहिलेको अवस्थामा अत्यधिक सस्तो पैसा अर्थतन्त्रका लागि जोखिम बन्न सक्छ । उनले मुद्रास्फीति नियन्त्रण गर्न समयमै ब्याजदर बढाउन आवश्यक रहेको बताएका छन् ।

गत अप्रिल महिनाको बैंक अफ जापान बैठकमा नौ सदस्यीय बोर्डमध्ये तीन सदस्यले ब्याजदर १ प्रतिशत पुर्‍याउनुपर्ने पक्षमा मत दिएका थिए। यद्यपि अन्तिम निर्णयअनुसार ब्याजदर ०.७५ प्रतिशतमै कायम राखिएको थियो। तर पछिल्ला अभिव्यक्तिहरूले जून १५–१६ मा हुने अर्को बैठकमै ब्याजदर बढ्ने सम्भावना बलियो बनेको छ।

अहिले अन्तर्राष्ट्रिय वित्तीय बजारले जूनमै ब्याजदर वृद्धि हुने सम्भावना करिब ७० प्रतिशत रहेको अनुमान गरिरहेको छ।

जापानी बन्ड बजारमा ठूलो हलचल

ब्याजदर वृद्धिको अपेक्षासँगै जापानको सरकारी ऋणपत्र बजारमा पनि ठूलो परिवर्तन देखिएको छ। जापानको १० वर्षे सरकारी बन्डको प्रतिफल (यिल्ड) २.६२५ प्रतिशत पुगेको छ, जुन करिब २९ वर्षयताकै उच्च स्तर हो।

यसको अर्थ लगानीकर्ताहरू अब जापानमा उच्च ब्याजदरको वातावरण आउने अपेक्षा गर्न थालेका छन्। लामो समयसम्म बैंक अफ जापानले ठूलो मात्रामा सरकारी बन्ड खरिद गरेर बजारमा पैसा आपूर्ति गरिरहेको थियो। अब भने त्यो नीतिलाई क्रमशः घटाउने तयारी भइरहेको छ।

ओईसीडीले बैंक अफ जापानलाई बन्ड खरिद घटाउने नीति सावधानीपूर्वक अघि बढाउन सुझाव दिएको छ। यदि वित्तीय बजारमा अस्थिरता बढे पुनः हस्तक्षेप गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिइएको छ।

विश्व अर्थतन्त्रमा समेत असर

जापानको ब्याजदर वृद्धि केवल जापानभित्र सीमित विषय होइन। विश्वभरका लगानीकर्ताहरूले वर्षौंदेखि जापानी येनमा अत्यन्त कम ब्याजदरमा ऋण लिएर अन्य देशमा लगानी गर्दै आएका थिए। यसलाई “येन क्यारी ट्रेड” भनिन्छ।

अब जापानमा ब्याजदर बढ्न थालेमा ती लगानीहरू जापान फर्किन सक्ने सम्भावना बढ्नेछ। यसले अमेरिकी बन्ड बजार, उदीयमान अर्थतन्त्र, शेयर बजार तथा विश्वव्यापी वित्तीय प्रणालीमा समेत असर पार्न सक्छ।

विशेषगरी येन बलियो हुन थालेमा जापानी निर्यातमा असर पर्न सक्छ भने विदेशमा लगानी गरिरहेको जापानी पूँजी स्वदेश फर्किन सक्छ।

 

Leave Your Comment

Related News