CLI

जीडीपीमा अग्रस्थानमा बागमती, तर कृषि–उद्योगमा कमजोरी

काठमाडौं । जीडीपीमा देशभर अग्रस्थानमा रहेको बागमती प्रदेशको अर्थतन्त्र सेवा क्षेत्रमा अत्यधिक निर्भर बन्दै गएको छ भने कृषि र उद्योग क्षेत्रको कमजोर प्रदर्शनले दीर्घकालीन आर्थिक सन्तुलनमा चुनौती थपिएको देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहनेछ भने प्रदेशको कुल गार्हस्थ उत्पादन करिब २२ खर्ब ३० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

देशको कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६.३ प्रतिशत रहेको छ, जुन देशमै सबैभन्दा बढी हो । तर यस आर्थिक शक्तिको आधार भने मुख्य रूपमा सेवा क्षेत्रमै केन्द्रित देखिएको छ ।

प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ७७.१ प्रतिशत रहेको छ भने कृषि क्षेत्रको योगदान ११.८ प्रतिशत र उद्योग क्षेत्रको योगदान ११.१ प्रतिशत मात्र रहेको छ ।

कृषि क्षेत्रमा उत्पादन घट्दै गएको तथ्यांकले देखाएको छ । समीक्षा अवधिमा धान उत्पादन १.५ प्रतिशतले घटेको छ भने मकै र कोदो उत्पादनमा समेत गिरावट आएको छ । तरकारी उत्पादन ४.७ प्रतिशतले घटेको छ भने दूध उत्पादनमा ७३.३ प्रतिशतको उल्लेखनीय गिरावट देखिएको छ । फलफूल उत्पादन ३०.४ प्रतिशतले घटेको छ ।

उद्योग क्षेत्रमा भने केही सुधार देखिएको छ । अध्ययनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ३९.५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षभन्दा बढी हो । सिमेन्ट उत्पादन गर्ने उद्योगहरूमा तुलनात्मक रूपमा उच्च क्षमता उपयोग देखिएको छ भने औषधि क्षेत्रका केही उद्योगहरू न्यून क्षमतामा सञ्चालन भइरहेका छन् ।

सेवा क्षेत्र अझै पनि प्रदेश अर्थतन्त्रको मुख्य आधारका रूपमा रहेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप १२.९१ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ८.०७ प्रतिशतले बढेको छ । होटलहरूको औसत अकुपेन्सी ५१ प्रतिशतभन्दा माथि रहेको छ ।

प्रदेशमा ठूला पूर्वाधार परियोजनाहरू पनि निर्माणाधीन अवस्थामा रहेका छन् । काठमाडौं–तराई मधेस द्रुतमार्ग, सुनकोशी मरिन डाइभर्सन आयोजना र गल्छी–रसुवागढी सडक आयोजना जस्ता परियोजनाले दीर्घकालीन आर्थिक गतिविधिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बागमती प्रदेशमा पर्यटन, कृषि, जलविद्युत तथा कृषि–आधारित उद्योगको ठूलो सम्भावना रहेको जनाएको छ । पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायणजस्ता विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा सांस्कृतिक सम्पदाले पर्यटन क्षेत्र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तर तीव्र शहरीकरण, कृषि भूमि घट्दै जानु, जलवायु परिवर्तनको असर र उद्योग सञ्चालन लागत बढ्नुजस्ता चुनौतीले दीर्घकालीन आर्थिक विकासमा दबाब सिर्जना गरिरहेको छ ।

Leave Your Comment

Related News