CLI

इरानप्रति आफ्नो धैर्यता गुम्दै गएको ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको विवादमा आफ्नो धैर्यता सकिन लागेको बताएका छन्। चीनका राष्ट्रपति सी चिनफिङसँग भएको वार्तापछि ट्रम्पले इरानलाई चाँडै सम्झौता गर्न चेतावनी दिएका हुन् ।

ह्वाइट हाउसका अनुसार ट्रम्प र सी चिनफिङबीच भएको भेटमा दुवैले होर्मुज जलडमरूमध्य खुला राख्नुपर्ने र इरानले परमाणु हतियार प्राप्त गर्न नहुने विषयमा सहमति जनाएको रोयटर्सले जनाएको छ । चीन इरानी तेलको मुख्य खरिदकर्ता भएकाले यो वार्ता महत्वपूर्ण मानिएको छ।

ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा भने, “म अब धेरै धैर्यवान रहनेछैन। इरानले सम्झौता गर्नुपर्छ।”

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले होर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना गरेको हो, जसका कारण विश्व ऊर्जा आपूर्तिमा ठूलो असर परेको छ।

यसबीच समुद्री क्षेत्रमा पनि तनाव बढेको छ । ओमान नजिक भारतीय मालवाहक जहाजमाथि आक्रमण भएको र अर्को जहाज यूएईको फुजैराह क्षेत्रबाट इरानी समूहले नियन्त्रणमा लिएको दाबी गरिएको छ ।

इरानले केही देशहरूसँग विशेष सहमति गरेर सीमित जहाजलाई मात्र जलमार्ग प्रयोग गर्न अनुमति दिएको समाचारमा उल्लेख छ। जापानी र चिनियाँ जहाजहरू हालै उक्त मार्गबाट पार भएका छन्।

अमेरिका र इरानबीचको वार्ता भने रोकिएको छ। अमेरिकी अधिकारीहरूले इरानको सैन्य क्षमता कमजोर भएको दाबी गरेका छन्, तर विभिन्न रिपोर्टहरूले इरानसँग अझै मिसाइल र ड्रोन क्षमता रहेको बताएका छन्।

Leave Your Comment

Related News