CLI

भारतमा इरान युद्धपछि पहिलो पटक पेट्रोल र डिजेलको मूल्य वृद्धि

काठमाडौं । भारतमा पेट्रोल र डिजेलको मूल्य प्रति लिटर ३ भारतिय रुपैयाँले वृद्धि गरिएको छ । पश्चिम एशियामा जारी द्वन्द्व र कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्यमा भएको वृद्धिका कारण तेल  कम्पनीहरूले मूल्य समायोजन गरेको द हिन्दुले जनाएको छ ।

इन्डियन आयल कर्पोरेशन लिमिटेडका अनुसार रिफाइनरीहरू हाल पूर्ण क्षमताभन्दा बढी सञ्चालनमा छन् । देशभर इन्धन आपूर्ति सहज रहोस् र कुनै पनि प्रकारको अभाव नहोस् भने कम्पनीहरु सञ्चालनमा छन्  । IOCL का निर्देशक (रिफाइनरी) अरविन्द कुमारले मूल्य वृद्धि “धेरै सानो” भएको बताउँदै आपूर्ति व्यवस्थामा समस्या नआउने स्पष्ट पारेका छन्।

नयाँ मूल्यअनुसार भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भारु ९७.७७ र डिजेल भारु ९०.६७ पुगेको छ। कोलकाता, मुम्बई र चेन्नईलगायत प्रमुख शहरहरूमा पनि समान रूपमा मूल्य वृद्धि गरिएको छ । केही शहरहरूमा पेट्रोलको मूल्य १०८ भारु नाघेको छ।

इन्धन मूल्य वृद्धिको असर भारतभर कृषि, यातायात र मत्स्यपालन क्षेत्रमा देखिन थालेको छ । किसानहरूले उत्पादन लागत बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन् भने ट्रान्सपोर्ट व्यवसायीहरूले भाडा लागत करिब ३ प्रतिशतले वृद्धि हुने अनुमान गरेका छन् । माछा व्यवसायीहरूले डिजेलको मूल्य वृद्धिले आफ्नो व्यवसायमा थप आर्थिक दबाब पर्ने बताएका छन् ।

इन्धन संकट व्यवस्थापनका लागि भारत सरकारले खर्च कटौतीका उपायहरू लागू गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन बचत, वर्क–फ्रम–होम, यात्रा नियन्त्रण र आयात घटाउनेजस्ता कदमहरू अपनाउन आग्रह गरेका छन्। केही राज्यहरूले सरकारी कार्यालयमा यात्रा नियन्त्रण, अनलाइन बैठक र वर्क–फ्रम–होम नीति लागू गर्न निर्देशन दिएका छन्।

यसैबीच, राजनीतिक दलहरूले मूल्यवृद्धिको विषयमा सरकारको आलोचना गरेका छन्। विपक्षी दलहरूले यो कदमले आम नागरिकमाथि थप आर्थिक बोझ पर्ने बताएका छन् भने सत्तापक्षले अन्तर्राष्ट्रिय बजारको दबाबका कारण मूल्य समायोजन आवश्यक भएको दाबी गरेको छ ।

तेल कम्पनीहरूले देशभर पर्याप्त इन्धन स्टक रहेको र आपूर्तिमा कुनै संकट नहुने स्पष्ट पारेका छन् । विश्लेषकहरूका अनुसार पश्चिम एशियामा देखिएको भू-राजनीतिक तनाव र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण अन्तर्राष्ट्रिय तेल बजार प्रभावित भएको छ, जसको प्रत्यक्ष असर भारतको इन्धन मूल्यमा परेको हो ।

Leave Your Comment

Related News