CLI

वायुसेवा निगमको ऋण दायित्व ५५ अर्ब नाघ्यो

काठमाडौं । नेपाल वायुसेवा निगमले एयरबस ए–३२० र ए–३३० जहाज खरिदका लागि लिएको ऋण समयमै तिर्न नसक्दा कुल दायित्व उल्लेख्य रूपमा बढेको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार निगमको बाँकी साँवा तथा ब्याज गरी कुल बक्यौता रु. ५५ अर्ब ४ करोड ७८ लाख पुगेको छ।

निगमले नेपाल सरकारको जमानीमा आर्थिक वर्ष २०७०/७१ र २०७४/७५ मा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट गरी कुल रु. ३६ अर्ब कर्जा लिएको थियो। यसमध्ये कर्मचारी सञ्चय कोषबाट रु. २२ अर्ब र नागरिक लगानी कोषबाट रु. १२ अर्ब कर्जा लिइएको थियो।

तर सम्झौताअनुसार भुक्तानी तालिकामा उल्लेख भएबमोजिम साँवा र ब्याज भुक्तानी गर्न नसक्दा दायित्व लगातार बढ्दै गएको प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनअनुसार हालसम्म कर्मचारी सञ्चय कोषलाई रु. ३१ अर्ब ३३ करोड ९२ लाख ६१ हजार र नागरिक लगानी कोषलाई रु. २१ अर्ब १२ करोड १७ लाख रुपैयाँ तिर्न बाँकी छ।

महालेखा परीक्षकले समयमै ऋण भुक्तानी नगर्दा सार्वजनिक संस्थानको वित्तीय दायित्व बढ्दै गएको भन्दै निर्धारित तालिकाअनुसार तत्काल भुक्तानी व्यवस्था गर्न सुझाव दिएको छ।

Leave Your Comment

Related News