CLI

इरानले स्ट्रेट अफ हर्मुजमा टोल उठाउने, ट्रम्पको चेतावनी ‘धेरै खराब समय’ आउन सक्छ

काठमाडौं । इरान–इजरायल–अमेरिका द्वन्द्वको बीचमा तेहरानले हर्मुज जलडमरुमा ट्राफिक व्यवस्थापन गर्दै टोल (शुल्क) उठाउने औपचारिक योजना सार्वजनिक गर्न लागेको छ । इरानले ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ नामक नयाँ निकाय स्थापना गरेको छ। यस निकायमार्फत हर्मुज जलडमरुबाट गुजर्न चाहने सबै जहाजहरूलाई इरानी क्रान्तिकारी गार्ड कोर (IRGC) लाई विस्तृत जानकारी (जहाजको  कार्गो, चालक दलको राष्ट्रियता आदि) उपलब्ध गराउनुपर्ने भएको छ।

जानकारी स्वीकृत भएपछि मात्र जहाजलाई पास दिइनेछ र शुल्क तिर्नुपर्नेछ । इरानले ‘शत्रु’ राष्ट्रका सैन्य सामग्री भने पूर्ण रूपमा रोक्ने बताएको छ ।

यो कदमलाई अन्तर्राष्ट्रिय समुदायले स्वतन्त्र नौसागरको सिद्धान्तविपरीत मानेको छ । अमेरिका, बेलायत र युरोपेली संघले IRGC लाई आतंककारी संगठनको सूचीमा राखेका कारण टोल तिर्नेलाई पनि प्रतिबन्धको जोखिम रहेको बताएका छन्। चीन र रुसले स्थायी युद्धविरामबाट मात्र समस्या समाधान हुने बताएका छन् ।

ट्रम्पले इरानसँगको वार्तालाई लिएर बढ्दो असन्तुष्टि व्यक्त गरेका छन्। पाकिस्तानको मध्यस्थतामा भइरहेको वार्ता अहिले अड्किएको छ। इरानी विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकामाथि विश्वास नभए पनि वार्ता अघि बढाउन तयार रहेको बताएका छन् । इरानले आफ्नो युरेनियम संवर्धन क्षमता पूर्ण रूपमा त्याग्न नसक्ने अडान राख्दै आएको छ ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता नभए इरानलाई ‘धेरै खराब समय’ आउने चेतावनी दिएका छन्।

लेबनान र गाजामा निरन्तर आक्रमण

यसैबीच, इजरायलले ४५ दिने युद्धविराम थप गरे पनि दक्षिणी लेबनानमा आक्रमण रोकेको छैन । पछिल्लो दुई दिनमा १०० भन्दै स्थानमा आक्रमण भएको इजरायली सेनाले जनाएको छ । टायर, क्‍लाइला लगायत क्षेत्रमा हवाई तथा तोप आक्रमण जारी छ।
गाजामा पनि इजरायली आक्रमणमा शनिबार मात्र ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् । हमासको सैन्य wing कसम ब्रिगेडका कमान्डर इज्जुद्दिन अल-हद्दाद, उनकी श्रीमती र छोरी इजरायली आक्रमणमा मारिएका छन् ।

विश्लेषकहरूका अनुसार दुवै पक्षबीच शून्य विश्वास छ । इरानलाई समयको फाइदा छ किनकि उनीहरूलाई अमेरिकी मध्यावधि निर्वाचनको दबाब छैन । अमेरिकी अर्थतन्त्रमा तेल मूल्यवृद्धि र मुद्रास्फीति बढ्दा इरानले पनि आर्थिक दबाब महसुस गरिरहेको छ ।

हर्मुज जलडमरु विश्वको करिब २० प्रतिशत तेल र ग्यास ढुवानी हुने महत्वपूर्ण मार्ग हो । यसलाई लिएर बढ्दो तनावले विश्वव्यापी ऊर्जा बजारलाई प्रभावित पार्न सक्ने देखिएको छ । स्थिति अझै जटिल र अनिश्चित रहेको छ । कूटनीतिक प्रयास जारी छ तर युद्ध फेरि सुरु हुन सक्ने जोखिम पनि कायमै छ।

Leave Your Comment

Related News