काठमाडौं । कंगो र युगान्डामा इबोला भाइरस तीव्र रूपमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्लुएचओका महानिर्देशकले १७ मे २०२६ मा जारी गरेको वक्तव्यमा लोकतान्त्रिक गणतन्त्र कंगो र युगान्डामा फैलिएको संक्रमणले विश्वव्यापी स्वास्थ्य जोखिम उत्पन्न गरेको उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली २००५ अन्तर्गत गरिएको मूल्यांकनपछि यो रोगलाई “पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेसनल कन्सर्न” अर्थात् अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरिएको हो। यद्यपि, यसले महामारी (प्यान्डेमिक) को मापदण्ड भने पूरा नगरेको डब्लुएचओले स्पष्ट पारेको छ।
डब्लुएचओका अनुसार १६ मे २०२६ सम्म कंगोको इटुरी प्रान्तमा ८ जनामा प्रयोगशालाबाट इबोला संक्रमण पुष्टि भएको छ भने २४६ शंकास्पद संक्रमित र कम्तीमा ८० शंकास्पद मृत्यु भएको छ । बुनिया, र्वाम्पारा र मोङ्गब्वालु लगायतका स्वास्थ्य क्षेत्रमा संक्रमण फैलिएको बताइएको छ ।
त्यस्तै, युगान्डाको राजधानी कम्पालामा कंगोबाट यात्रा गरेर आएका २ जनामा संक्रमण पुष्टि भएको छ, जसमा १ जनाको मृत्यु भएको छ। यी २ संक्रमितबीच प्रत्यक्ष सम्बन्ध नदेखिएको डब्लुएचओले जनाएको छ। त्यसैगरी, कंगोको राजधानी किन्शासामा पनि इटुरीबाट फर्किएका १ व्यक्तिमा संक्रमण पुष्टि भएको छ।
डब्लुएचओका अनुसार प्रभावित क्षेत्रमा समुदायस्तरमै असामान्य मृत्युका घटना बढिरहेका छन्। इटुरी र उत्तर किभु क्षेत्रमा भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परिरहेका छन्। कम्तीमा ४ जना स्वास्थ्यकर्मीको मृत्यु भएपछि अस्पतालभित्र संक्रमण फैलिने जोखिम अझ बढेको छ ।
विशेषज्ञहरूले हाल संक्रमितको वास्तविक संख्या र संक्रमण फैलिएको क्षेत्रबारे स्पष्ट जानकारी नभएको बताएका छन् । सुरुआती परीक्षण गरिएका १३ नमुनामध्ये आठमा संक्रमण पुष्टि हुनु, कम्पाला र किन्शासामा केस देखिनु तथा समुदायमा मृत्युका घटना बढ्नुले वास्तविक अवस्था अझ गम्भीर हुन सक्ने संकेत गरेको डब्लुएचओले जनाएको छ।
डब्लुएचओले द्वन्द्व, मानवीय संकट, जनसंख्याको उच्च आवतजावत, सहरी क्षेत्रमा संक्रमण फैलिनु तथा अनौपचारिक स्वास्थ्य संस्थाको ठूलो सञ्जालका कारण जोखिम बढेको उल्लेख गरेको छ। सन् २०१८–१९ मा उत्तर किभु र इटुरी क्षेत्रमा फैलिएको ठूलो इबोला महामारीको जस्तै अवस्था दोहोरिन सक्ने चेतावनी दिइएको छ।
बन्डिबुग्यो भाइरसविरुद्ध हालसम्म स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध नभएकाले यसलाई अझ गम्भीर मानिएको छ। डब्लुएचओले संक्रमितको पहिचान, सम्पर्कमा आएका व्यक्तिको निगरानी, प्रयोगशाला परीक्षण, संक्रमण रोकथाम तथा सुरक्षित उपचार व्यवस्थालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।
डब्लुएचओले कंगो र युगान्डालाई राष्ट्रिय आपतकालीन संयन्त्र सक्रिय गर्न, आपतकालीन सञ्चालन केन्द्र स्थापना गर्न तथा समुदायसँग समन्वय गरेर जनचेतना बढाउन सुझाव दिएको छ। धार्मिक तथा स्थानीय नेतामार्फत समुदायलाई सचेत बनाउनुपर्नेमा जोड दिइएको छ।
स्वास्थ्य संस्थामा संक्रमण रोक्न स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराउन, उचित तालिम दिन तथा अस्पतालमा निगरानी बढाउन पनि डब्लुएचओले आग्रह गरेको छ। साथै, संक्रमितलाई विशेष उपचार केन्द्रमा राखेर सुरक्षित उपचार गर्नुपर्ने बताइएको छ।
डब्लुएचओले सीमाक्षेत्रमा निगरानी बढाउन, यात्रुहरूको स्वास्थ्य परीक्षण गर्न तथा संक्रमित वा शंकास्पद व्यक्तिलाई अन्तर्राष्ट्रिय यात्रा गर्न रोक लगाउन सुझाव दिएको छ। जोखिम कम नभएसम्म ठूला सार्वजनिक कार्यक्रम स्थगित गर्न पनि आग्रह गरिएको छ।
संक्रमित व्यक्तिको शव व्यवस्थापन सुरक्षित र सम्मानजनक रूपमा गर्नुपर्ने तथा सीमापार शव ओसारपसारमा रोक लगाउनुपर्ने डब्लुएचओको भनाइ छ। प्रभावित क्षेत्रका लागि आवश्यक औषधि, परीक्षण सामग्री तथा सुरक्षा उपकरणको पर्याप्त आपूर्ति सुनिश्चित गर्न पनि जोड दिइएको छ।
डब्लुएचओले कंगोसँग सीमा जोडिएका अन्य देशहरूलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। स्वास्थ्य संस्थामा निगरानी बढाउने, शंकास्पद मृत्युका घटनाको अनुसन्धान गर्ने तथा द्रुत प्रतिक्रिया टोली तयारी अवस्थामा राख्न भनिएको छ।
यद्यपि, डब्लुएचओले कुनै पनि देशलाई सीमा बन्द नगर्न तथा व्यापार र यात्रामा प्रतिबन्ध नलगाउन आग्रह गरेको छ। वैज्ञानिक आधारबिना गरिने प्रतिबन्धले संक्रमण नियन्त्रणमा सहयोग नगर्ने बरु अनौपचारिक आवतजावत बढाएर जोखिम झन् बढाउने चेतावनी दिइएको छ।


