CLI

दाङ फिड इन्डष्ट्रिजले ६ महिनामा गर्यो ८१ करोड ३० लाख आम्दानी, वित्तीय अवस्था सुधार हुँदै

काठमाडौं । दाङ फिड इन्डष्ट्रिज प्रालिले चालु आर्थिक वर्ष (सन् २०२६)को ६ महिनमा ८१ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष (२०२५) यस कम्पनीले २ अर्ब २६ करोड ३० लाख आम्दानी गरेको थियो । यो अघिल्लो वर्ष (सन् २०२४) को तुलनामा १७.३१ प्रतिशत धेरै हो ।

अघिल्लो वर्ष यस कम्पनीले १ अर्ब ९२ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको जनाइएको छ । सन् २०२३ मा १ अर्ब ९४ करोड ९० लाख र सन् २०२२ २ अर्ब २५ करोड ४० लाख आम्दानी गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ ।

कम्पनीले ९४ करोड ६६ लाख रुपैयाँ बैंक कर्जाका रेटिङ गराएको छ । जसमध्ये लङ ट्रम (दीर्घकारलिन) २१ करोड ३८ लाख रुपैयाँका लागि ‘इक्राएनपी एलबीबी’ र सर्ट ट्रम कर्जा ७३ करोड २८ लाख रुपैयाँका लागि ‘इक्राएनपी ए४’ रेटिङ पुनः पुष्टि गरेको छ ।

इक्रा नेपालका अनुसार कम्पनीको वित्तीय अवस्था केही सुधार हुँदै गएको, ऋणको अनुपात घटेको तथा सञ्चालन नाफामा सुधार आएको जनाएको छ । सन् २०२६ जनवरी मध्यसम्म कम्पनीको गियरिङ (कुल ऋण-नेटवर्थ) १.२ गुणा पुगेको छ, जुन अघिल्लो वर्ष १.५ गुणा थियो । त्यस्तै कुल ऋण तथा सञ्चालन नाफाबीचको अनुपात पनि ४.८ गुणाबाट घटेर ४.१ गुणामा झरेको छ।

कम्पनीको डेब्ट सर्भिस कभरेज रेसियो (डीएससीआर) करिब २.१ गुणा रहेको छ, जसले कम्पनीले ऋणको किस्ता र ब्याज तिर्न सक्ने क्षमता अझै पर्याप्त रहेको देखाउँछ। इक्रा नेपालले कुखुरा दाना उत्पादन तथा पोल्ट्री क्षेत्रमा प्रवर्द्धकहरूको २ दशकभन्दा लामो अनुभवलाई पनि सकारात्मक पक्ष मानेको छ ।

तर कम्पनीको तरलता अवस्था भने अझै दबाबमा रहेको जनाइएको छ । कम्पनीको नेट वर्किङ क्यापिटल अनुपात अत्यधिक बढेर करिब ६४ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ३९ प्रतिशत थियो। यसको मुख्य कारण ग्राहकबाट पैसा उठाउन धेरै समय लाग्नु रहेको बताइएको छ।

रिपोर्टअनुसार कम्पनीको करिब ६३ प्रतिशत उधारो रकम ९० दिनभन्दा बढी समयदेखि उठ्न बाँकी रहेको छ । यसले कम्पनीको नगद प्रवाहमा दबाब परेको इक्रा नेपालले उल्लेख गरेको छ।

त्यस्तै, आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा कम्पनीको सञ्चालन आम्दानी करिब ३७ प्रतिशतले घटेको छ । उत्पादन बिक्रीको केही हिस्सा हालै अधिग्रहण गरिएको भगिनी संस्था ‘स्वर्गद्वारी फिड इन्डस्ट्रिज’ मार्फत जान थालेपछि आम्दानी घटेको बताइएको छ।

यद्यपि कच्चा पदार्थको मूल्य घटेका कारण कम्पनीको सञ्चालन नाफा मार्जिन भने सुधार भएर करिब १०.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो मार्जिन ५.९ प्रतिशत थियो।

इक्रा नेपालले नेपालमा दाना उद्योग अत्यधिक प्रतिस्पर्धात्मक र विखण्डित रहेको उल्लेख गरेको छ। कम प्रवेश अवरोधका कारण बजारमा धेरै कम्पनी सक्रिय रहेकाले प्रतिस्पर्धा तीव्र भएको बताइएको छ।

यसका साथै कम्पनी अझै पनि मकै र सोयाबिनजस्ता कच्चा पदार्थको आयातमा निर्भर रहेको छ। मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनाव, कृषि उत्पादनमा मौसमजन्य जोखिम तथा मूल्य उतारचढावले कम्पनीको लागत र नाफामा असर पार्न सक्ने इक्राले जनाएको छ ।
सन् २०१६ मा स्थापना भएको दाङ फिडले खुराक ब्रान्डमा कुखुरा, गाईभैँसी, बंगुर तथा माछाका लागि विभिन्न प्रकारका दाना उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ३६ हजार मेट्रिक टन रहेको छ ।

Leave Your Comment

Related News