काठमाडौं । वाणिज्य बैंकहरूको सेयर धितो कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत) मा १ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । जुन गत वर्षको तुलनामा ३४.५५ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १ खर्ब १ अर्ब ६० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। यस वर्ष उक्त कर्जा प्रवाह ३५ अर्ब १० करोड ९० लाख रुपैयाँले बढेको छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै नबिल बैंकले सेयर कर्जा प्रवाह गरेको छ। बैंकले १७ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो रकम गत आवको तुलनामा १९.९५ प्रतिशत बढी हो ।
त्यस्तै दोस्रोमा, ग्लोबल आइएमई बैंकको उक्त कर्जा प्रवाह १७.८५ प्रतिशतले बढेको छ। चैतसम्म यसबैंकले १३ अर्ब ७३ करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको तुलनामा २ अर्ब ८ करोड रुपैयाँ बढी हो ।
कुमारी बैंकले १० अर्ब ९३ करोड, प्राइम कमर्सियलले ९ अर्ब ६९ करोड ४० लाख, सिद्धार्थले ९ अर्ब ३० लाख र लक्ष्मी सनराइजले ९ अर्ब ४९ करोड ८० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् ।
यता, माछापुच्छ्रे बैंकको सेयर कर्जा १३६.९३ प्रतिशत र कृषि विकास बैंकको १७९.७१ प्रतिशतले बढेको छ। माछापुच्छ्रे बैंकले चालु आवमा ४ अर्ब २९ करोड ९८ लाख कर्जा प्रवाह गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८१ करोड ४० लाख कर्जा प्रवाह गरेको थियो।
कृषि विकास बैंकले चैतसम्म ८ अर्ब ४९ करोड ६० लाख उक्त कर्जा प्रवाह गरेको छ। गत आवमा बैंकले ३ अर्ब ३ करोड ७० लाख रुपैयाँ मात्र कर्जा प्रवाह गरेको थियो । ३ वाणिज्य बैंकको सेयर धितो कर्जा भने घटेको छ। कर्जा घट्नेमा नेपाल बैंक, सिटिजन्स बैंक र नेपाल एसबिआई बैंक रहेका छन्।
नेपाल बैंकको कर्जा प्रवाह ७ अर्ब ८२ करोड ६० लाखबाट घटेर ६ अर्ब ६४ करोड ५० लाखमा पुगेको छ। यता, सिटिजन्स बैंकले भने चालु आवमा ५ अर्ब ८८ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो रकम गत आवको तुलनामा ९१ करोड १० लाखले कम हो। बैंकले गत आवमा ६ अर्ब ८० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने यस्तो कर्जा प्रवाह गरेको छैन।



