काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउने अभियानसँगै सरकारले विस्थापित परिवारलाई राहतस्वरूप आर्थिक सहयोग दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित प्रत्येक परिवारलाई पुनर्स्थापनाका लागि एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार नदी किनारबाट हटाइएका तथा विस्थापित परिवारको विवरण रुजु गरेपछि उक्त रकम वितरण गरिनेछ । सरकारले यस कदमलाई जोखिमयुक्त बस्ती व्यवस्थापनसँगै प्रभावित नागरिकको पुनर्स्थापनामा सहजीकरण गर्ने उपायका रूपमा प्रस्तुत गरेको छ ।
यस्तै, मन्त्रिपरिषद् बैठकले स्विट्जरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता पोखरेलका अनुसार नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन अनुदान स्वीकार गरिएको हो ।
त्यसैगरी, अरनिको राजमार्गको मर्मत तथा सुधार कार्यका लागि चिनियाँ सरकारले उपलब्ध गराउने ७९.३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उनले जानकारी दिए ।



