CLI

बीमा ऐनसम्बन्धी कसूर अनुसन्धानमा ३७ जना उच्च पदस्थ व्यवसायी तथा सञ्चालकमाथि सीआईबीको छानबिन, बीमालेख रोक्का राख्न प्राधिकरणको निर्देशन

काठमाडौं । बीमा ऐन, २०७९ अन्तर्गतको कसूर मुद्दा अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले विभिन्न बीमा, पुनर्बीमा, बैंकिङ, लगानी तथा वित्तीय संस्थासँग आबद्ध ३७ जना व्यक्ति सम्बन्धी विवरण माग गरेपछि नेपाल बीमा प्राधिकरणले सबै इजाजतपत्र प्राप्त बीमक कम्पनीलाई सम्बन्धित व्यक्तिको बीमालेख रोक्का राख्न निर्देशन दिएको छ।

नेपाल बीमा प्राधिकरणले उल्लेखित व्यक्तिहरूको नाममा कुनै पनि प्रकारको बीमालेख जारी भएको भए तत्काल रोक्का राख्न र सम्पूर्ण विवरण प्राधिकरणको विद्युतीय प्रणाली IRMIS मा अपलोड गर्न निर्देशन दिइएको छ। बीमा नभएको अवस्थामा पनि सोही व्यहोराको जानकारी दिन भनिएको छ।

प्राधिकरणले बीमकहरूलाई पुनः ताकेता गर्नु नपर्ने गरी सम्पूर्ण कागजातसहित विस्तृत विवरण तत्काल उपलब्ध गराउन आग्रह गरेको छ।

सीआईबीले  “नेपाल सरकार विरुद्ध आशिष श्रेष्ठ समेत” प्रतिवादी रहेको बीमा ऐन, २०७९ अन्तर्गतको कसूर मुद्दाको अनुसन्धानका लागि विभिन्न व्यक्तिको नाममा देशभरका बीमा कम्पनीहरूमा जारी भएका बीमालेखको विवरण माग गरेको हो ।

सीआईबीले सम्बन्धित व्यक्तिको नाममा जारी भएका सबै बीमालेखको विवरण आफ्नो इमेल ठेगानामा पठाउन र ती बीमालेख रोक्का राखेर अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको छ।

अनुसन्धानको दायरामा नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, हिमालय सेक्युरिटी बैंक, हिमालयन क्यापसर्भ, हिमालयन इन्भेष्टमेन्ट बैंकर, भृकुटी स्टक ब्रोकिङ, इन्फिनिटी होल्डिङ, हिमालयन लाइफ इन्स्योरेन्स तथा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्ससँग आबद्ध सञ्चालक, लगानी समिति सदस्य, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरू परेका छन्।

सीआईबीले विवरण माग गरेका व्यक्तिहरूमध्ये नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, सुनिता श्रेष्ठ, अनुप मालाकार र बद्री सिग्देल रहेका छन्। त्यस्तै लगानी समिति अध्यक्ष तथा सञ्चालक सदस्य प्रविना दाहाल र लगानी समिति सदस्य सुजल मल्ल पनि अनुसन्धानको दायरामा छन्।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग सम्बन्धित व्यक्तिहरूमा सञ्चालक अमित मोर, शाहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला तथा लगानी समिति सदस्य मनिष कुमार रहेका छन्।

त्यस्तै हिमालय सेक्युरिटी बैंक लिमिटेडका सञ्चालक अध्यक्ष दिपक कुमार श्रेष्ठ, सञ्चालक सिताराम वाग्ले, सञ्चालक आकांक्षा गुप्ता तथा प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठमाथि पनि अनुसन्धान भइरहेको छ।

हिमालयन क्यापसर्भ लिमिटेडका अध्यक्ष शिशिर गैह्रे, सञ्चालक सदस्य विद्या श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रितेश प्रधानको विवरण पनि माग गरिएको छ।

त्यसैगरी हिमालयन इन्भेष्टमेन्ट बैंकरसँग सम्बन्धित कपिल कुमार दाहाल, राजन प्रसाद अधिकारी, विदुर पुरी, बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानाङ्ग, शुमेर शम्शेर ज.व.रा., सुभाष पौडेल, शालिनी संघई र प्रतिक जोशीको नाम अनुसन्धान सूचीमा समावेश छ।

भृकुटी स्टक ब्रोकिङ प्रालिका कार्यकारी अध्यक्ष सन्दिप चाचन अग्रवाल, इन्फिनिटी होल्डिङ प्रालिका सञ्चालक अध्यक्ष दिपक भट्ट, हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन सञ्चालक अध्यक्ष शुलभ अग्रवाल, शुभी अग्रवाल तथा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका तत्कालीन अध्यक्ष ऋषिराज मोरको विवरण पनि माग गरिएको छ।

यसैगरी राज बहादुर शाहसमेत अनुसन्धानको दायरामा परेका छन्। सीआईबीले ती व्यक्तिहरूको नाममा जारी भएका बीमालेखहरूको सम्पूर्ण विवरण, कागजात तथा अभिलेख उपलब्ध गराउन आग्रह गर्दै अनुसन्धान प्रभावित नहुने गरी बीमालेख रोक्का राख्न निर्देशन दिएको हो।

Leave Your Comment

Related News