काठमाडौं । पाकिस्तानका सेना प्रमुख आसिम मुनीर इरानको राजधानी तेहरान पुगेका छन् । मुनीर शुक्रबार तेहरान पुगेको पाकिस्तानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
उनले इरान–अमेरिका वार्ता, क्षेत्रीय शान्ति तथा अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्ने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । यस्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि आसिम मुनीरसँग निरन्तर सम्पर्क भइरहेको बताएका छन् । उनले इरानसँग चाँडै कुनै समझदारी बन्न सक्ने आशा पनि व्यक्त गरेको खबरमा उल्लेख छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका–इरान वार्तामा केही सकारात्मक संकेत देखिएको समेत बताएका छन् । तर, इरानको युरेनियम भण्डारण र हर्मुज जलमार्गको नियन्त्रणजस्ता संवेदनशील विषयमा अझै सहमति हुन सकेको छैन । अराघचीले सामाजिक सञ्जाल एक्समार्फत वर्तमान तनावपूर्ण अवस्थाकाबीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको बताउनु भएको छ । दुई देशबीचको युद्धले अहिलेसम्म ठूलो आर्थिक र मानवीय क्षति पु¥याएको छ । विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढेको छ ।
इरानको तेल निर्यात लगभग ठप्प हुँदा उसको अर्थतन्त्रमा ठूलो दबाब परेको छ भने अमेरिका र युरोपमा पनि मुद्रास्फीति तथा इन्धन खर्च बढेको छ । खाडी क्षेत्रका धेरै देशमा व्यापार, हवाई सेवा र पर्यटन प्रभावित भएका छन् ।


