CLI

किओच काठमाडाैँ बाल अस्पतालको भवन हस्तान्तरण

काठमाडौं । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ। बूढानीलकण्ठ नगरपालिका-७ हेपाली हाइटमा रहेको अस्पतालको उक्त भवन समाजसेवी मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिदिएका हुन्।

आज यहाँ आयोजित कार्यक्रममा जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले सो भवनको समुद्घाटन गरे। व्यवसायी गुरुङको स्वामित्वमा रहेको भाटभटेनीले उक्त भवन निर्माण गर्न रु ७१ करोड चार लाख ४२ हजार २४४ खर्चेको थियो।

कार्यक्रममा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल स्थापनासँगै गरिब तथा बालबालिकाले सर्वसुलभ स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित भएको बताए। अस्पतालका अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले गैरनाफामूलक संस्थाका रुपमा रहेको यस संस्थाले विशिष्टीकृट स्वास्थ्य सेवा उपलब्ध गराउने बताए। व्यवसायी गुरुङले सर्वसाधारण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि अस्पताल स्थापना गरिएको बताए।

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ मुनाफारहित कम्पनीका रूपमा दर्ता तथा समाज कल्याण परिषद्मा आबद्ध भई गैरसरकारी सामाजिक संस्थाका रूपमा सञ्चालनमा छ। उक्त इन्स्टिच्युटको काठमाडौँ उपत्यकामा विशिष्टकृट सेवासहित बाल अस्पताल तथा सातवटै प्रदेशमा भौतिक संरचनासहित बाल अस्पताल सञ्जाल निर्माण गरिरहेको छ।

देशभरका सबै वर्गका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याई उनीहरूको स्वास्थ्य अवस्थामा सुधार गर्ने र शिशु तथा बाल मृत्युदर घटाउने लक्ष्यसाथ उक्त अस्पताल स्थापना गरिएको हो।

Leave Your Comment

Related News