CLI

पाँचथरमा बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

पाँचथर। अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका– १ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोले घर बगाएपछि याङवरक– १ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता खवासको घरमा बसेका छन् । गंगाप्रसादको ६ जनाको परिवार उनका दाजु दुर्गा बेघाको घरमा बसेको छ । सोही स्थानका भगीमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि सो परिवारका ६ जना विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

बाढीपहिरोका कारण कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङडाँडाका रबिन राई, रामकुमार राई, रणबहादुर राई, मनकुमारी गुरुङ र डम्बरबहादुर गुरुङ, एकराते टोलका रत्नमान राई, लछुमान राई, राजेश राई, कमलबहादुर राई र शेरबहादुर राई तथा खोलाघारी मगरडाँडा टोलका याम मगर, पूर्णकुमार मगर र सुजन मगरको घर जोखिममा छ ।

बाढीले लामिटारबाट चाम्लिङडाँडा जोडने झोलुङ्गे पुल र याङवरक– २ दोभानेसिथत झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । बाढीले निर्माणाधीन दुई सडकका पुल बगाएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका– २ दोभानेमा मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो सडक पुल बाढीले बगाएको हो । यहाँ निर्माणाधीन पुलका साथै सडक र डाइभर्सनसमेत बगाएका कारण यातायात पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी नायब उपरीक्षक कर्णले जानकारी दिए ।

त्यसैगरी, तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर नदीमा निर्माणाधीन लिम्बूनी पुलका संरचनासमेत बाढीले बगाएको छ ।

याक्थुङहाङ निर्माण सेवा प्रालिले निर्माण गरिरहेको उक्त पुलका ३५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन, फलामे पाइपलगायत सामग्री बगाएको प्रहरी नायब उपरीक्षक कर्णले बताए । पहिरो झरेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग ओयाम बजार र रिजाल भिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

Leave Your Comment

Related News