CLI

समन्वय अभावले खानेपानी पाइपमा साढे ६ करोड क्षति

काठमाडौं । सरकारी निकायहरूबीच समन्वय अभाव हुँदा काठमाडौँ उपत्यकामा विछ्याइएका खानेपानी पाइपलाइनमा ठूलो क्षति पुगेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार विभिन्न निकायले सडक, विद्युत् तथा अन्य पूर्वाधार निर्माणका क्रममा पाइपलाइनमा क्षति पुर्‍याएका हुन्।

प्रतिवेदनमा रु ६ करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको उल्लेख छ। क्षति भएको रकम सम्बन्धित निकायबाट शोधभर्ना लिनुपर्ने भए पनि हालसम्म रकम असुल हुन सकेको छैन।

विवरणअनुसार नेपाल विद्युत् प्राधिकरण ले काम गर्ने क्रममा रु एक करोड ६७ लाख ५७ हजार बराबरको क्षति पुगेको छ। त्यस्तै सडक विभाग का कामका कारण रु दुई करोड ८० हजार बराबरको नोक्सानी भएको छ।

यस्तै ललितपुर महानगरपालिका ले गरेको कार्यका क्रममा रु एक करोड १२ लाख ७३ हजार बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। अन्य विभिन्न निकायबाट समेत रु एक करोड ७१ लाख ३८ हजार बराबरको क्षति पुगेको जनाइएको छ।

यसैबीच, काठमाडौँ उपत्यकाका कोड्कु, सल्लाघारी र धोबिघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणका क्रममा एक निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोडेर नयाँ ठेक्का गरिएको विषयमा पनि महालेखाले प्रश्न उठाएको छ।

सुरुमा एक विदेशी कम्पनीसँग रु तीन अर्ब ४६ करोड ९६ लाखमा सम्झौता गरिएको थियो। उक्त कम्पनीले रु ७८ करोड ७७ लाख २५ हजार बराबरको मात्रै काम सम्पन्न गरेपछि समयमै काम नसकिएको भन्दै सम्झौता अन्त्य गरिएको थियो।

त्यसपछि नयाँ निर्माण व्यवसायी छनोट अघि रु छ अर्ब ४७ करोड एक लाख बराबरको लागत अनुमान तयार गरिएको थियो। कार्यसम्पादन जमानत र पेश्कीसमेत गरी रु दुई अर्ब ५९ करोड ९९ लाख असुल गर्ने निर्णय भए पनि हालसम्म उक्त रकम असुल हुन नसकेको भन्दै महालेखाले चासो व्यक्त गरेको छ।

Leave Your Comment

Related News