बरहथवा। उपसभामुख रुवीकुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहने बताएकी छन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले यहाँ आज आयोजना गरेको बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख ठाकुरले बालविवाह र दाइजो प्रथा मधेसबाट मात्र नभइ देशबाट उन्मूलन हुनुपर्ने बताइन् । छोरीलाई बोझ मान्ने लैङ्गिक विभेदका कारण बालविवाह हुने गरेको भन्दै उनले मधेसले छोरीलाई सम्मान गर्न सिक्नुपर्ने उल्लेख गरिन्
सर्लाही–१ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारीले दाइजो र बालविवाह प्रथा लामो समयदेखि मधेसमा नबदलिएको बताइन् । उनले समाजमा व्याप्त यस्ता कुरीति र कुसंस्कार शिक्षाको उज्यालो ज्योतिले मात्र हटाउन सक्ने भन्दै उनले छोरीहरूलाई पढाउन आग्रह गरिन् ।
कार्यक्रममा मधेसप्रदेशअन्तर्गत विभिन्न पालिकाका उपाध्यक्ष र उपप्रमुखहरूको सहभागिता थियो । सो अवसरमा छोरीलाई १२ कक्षा पढाएर २० वर्ष पारि विवाह गर्ने अभिभावक, बुहारीलाई स्नातक पढाउने अभिभावक र बिना दाइजो विवाह गर्ने जोडीलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
चन्द्रनगर गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि २० वर्ष पार गरी विवाह गर्ने छोरीहरूलाई विवाह मण्डपमै पुगेर नगद रु ५० हजारसहित सम्मान र कक्षा १२ सम्म पढ्ने छोरीहरूलाई पठनपाठमा प्रोत्साहन गर्ने उद्देश्यसहित एकमुष्ट नगद रु ११ हजार दिँदै आएको छ ।


