CLI

सभामुख  डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कबीच शिष्टाचार भेटवार्ता

काठमाडौं ।सभामुख  डोल प्रसाद (डीपी) अर्यालसंग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरे उनले नेपालमा नयाँ जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै विदेशी लगानी तथा विकास साझेदारीका लागि वातावरण थप सहज बन्दै गएको बताउएका थिए।

सभामुख अर्यालले नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि तथा प्राविधिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । उनले नेपाल–कोरिया संसदीय मैत्री समूह गठनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै दुई देशका सांसदबीच अनुभव आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने धारणा राखेका थिए ।

उनले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपाल वायुसेवाको सिधा सिओल उडानका लागि सहजीकरण गर्न पनि कोरियाली सरकारसँग अनुरोध गरेका हुन् । नेपाल–कोरिया सम्बन्ध सरकारस्तरमा मात्र नभई जनताबीचको सम्बन्धका रूपमा समेत विकसित भएको उनको भनाइ थियो।

राजदूत पार्कले नेपाललाई कोरियाले विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारी क्षेत्रमा सहकार्य जारी रहेको बताए। उनका अनुसार रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत हालसम्म करिब १ लाख २० हजार नेपालीले कोरियामा रोजगारीको अवसर पाएका छन् भने ५० हजार नेपाली हाल त्यहाँ कार्यरत छन्।

उनले नेपाली कामदारले कोरियाको उत्पादनमूलक तथा कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै श्रमिकको स्वास्थ्य, सुरक्षा र सम्मानमा कोरिया सरकार संवेदनशील रहेको बताए। विदेशबाट फर्किएका नेपालीलाई पुनःस्थापना तथा उद्यमशीलतामा सहयोग गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए ।

राजदूत पार्कले कोरियाली लगानी नेपालमा विस्तार हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा विशेष लगानी भइरहेको बताए । रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण करिब ८० प्रतिशत सम्पन्न भइसकेको र आगामी वर्षदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको उनले जानकारी दिएका हुन  हरित ऊर्जा र कार्बन ट्रेडिङ क्षेत्रमा समेत कोरियाली व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको उनको भनाइ थियो।

Leave Your Comment

Related News