CLI

वित्तीय क्षेत्रको वैदेशिक सम्पत्ति २६ खर्ब नाघ्यो

काठमाडौं । २०८२ असारसम्म नेपालको वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति बढेर रु. २६ खर्ब ६८ अर्ब पुगेको छ भने आन्तरिक दाबी रु. ७७ खर्ब नाघ्दै तरल दायित्व रु. ६७ खर्ब ७१ अर्बभन्दा माथि पुगेको वित्तीय क्षेत्र सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार यो अवधिमा नेपाल सरकारमाथिको खुद दाबी रु. १० खर्ब ७८ अर्ब ३३ करोड, सार्वजनिक गैर-वित्तीय संस्थामाथिको दाबी रु. ४१ अर्ब ६३ करोड र निजी क्षेत्रमाथिको दाबी रु. ६५ खर्ब ८९ अर्ब ४१ करोड पुगेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार संघीय संसदका दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै  वित्तीय क्षेत्रको तरल दायित्वतर्फ चलनचल्तीमा रहेको मुद्रा रु. ६ खर्ब ५० अर्ब २४ करोड, माग निक्षेप रु. ४ खर्ब २९ अर्ब ६७ करोड र अन्य निक्षेप दायित्व रु. ५७ खर्ब ९१ अर्ब ७२ करोड रहेको जनाए ।

चालु आर्थिक वर्षको फागुनसम्म वित्तीय स्थायित्व सूचकमा केही दबाब देखिए पनि अधिकांश सूचक नियामकीय सीमाभित्र रहेको उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात ४.९२ प्रतिशतबाट बढेर ५.४२ प्रतिशत पुगेको छ । त्यस्तै जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पूँजी अनुपात ९.६१ प्रतिशत र कुल पूँजी अनुपात १२.६४ प्रतिशत रहेको छ ।

नियामकीय कर्जा–निक्षेप अनुपात ७४.०७ प्रतिशत र कुल कर्जा–निक्षेप अनुपात ८०.०७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ७९.५ प्रतिशत थियो । समग्रमा, सर्वेक्षणले वित्तीय क्षेत्र स्थिर रहे पनि कर्जा विस्तार सुस्त हुँदा केही दबाब देखिएको र तरलता उच्च रहेको संकेत गरेको छ ।

सर्वेक्षणअनुसार प्रविधिको उपयोगसँगै विद्युतीय कारोबारमा वृद्धि भई वित्तीय पहुँचमा सुधार आएको छ । बैंकिङ क्षेत्रका प्रमुख सूचकहरू—पूँजी कोष र तरलता अनुपात—नियामकीय सीमाभन्दा माथि रहेकाले समग्र वित्तीय स्थायित्व कायम रहेको उल्लेख गरिएको छ । सरकारले वित्तीय क्षेत्रका कानुनी, नीतिगत तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखेकाले आर्थिक गतिविधि विस्तार भई अर्थतन्त्र अझ चलायमान हुने अपेक्षा गरिएको छ ।

तर आर्थिक गतिविधिमा आएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जाको वृद्धिदर घटेको छ । यसले व्यवसायहरू प्रभावित भई निष्क्रिय कर्जा (NPL) बढेको छ । विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढे पनि समग्र माग अपेक्षित रूपमा नबढ्दा बैंकिङ क्षेत्रमा अधिक तरलता कायम रहेको सर्वेक्षणमा उल्लेख छ ।

२०८२ फागुनसम्म २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी कुल १०६ बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् । साथै ३७ बीमा कम्पनी, ३० हजारभन्दा बढी सहकारी संस्था, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, निक्षेप तथा कर्जा सुरक्षण निगम तथा म्युचुअल फण्ड पनि सञ्चालनमा रहेका छन् ।

वित्तीय प्रणालीमा बैंकिङ क्षेत्रको हिस्सा उच्च रहेको छ । २०८२ पुससम्म कुल वित्तीय सम्पत्तिमा बैंक तथा वित्तीय संस्थाको हिस्सा ८६.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ८५.९ प्रतिशत थियो । कुल सम्पत्ति तथा दायित्वमा नेपाल राष्ट्र बैंकको २०.७ प्रतिशत, वाणिज्य बैंकको ५५.२ प्रतिशत र अन्य वित्तीय संस्थाको १०.३ प्रतिशत हिस्सा रहेको छ । बीमा तथा सम्झौतित बचत संस्थाको हिस्सा १३.८ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म वित्तीय स्थायित्व सूचकमा केही दबाब देखिए पनि अधिकांश सूचक नियामकीय सीमाभित्र रहेको सर्वेक्षणले देखाएको छ । निष्क्रिय कर्जा अनुपात ४.९२ प्रतिशतबाट बढेर ५.४२ प्रतिशत पुगेको छ । त्यस्तै, प्राथमिक पूँजी अनुपात ९.६१ प्रतिशत र कुल पूँजी अनुपात १२.६४ प्रतिशत रहेको छ ।

नियामकीय कर्जा–निक्षेप अनुपात ७४.०७ प्रतिशत र कुल कर्जा–निक्षेप अनुपात ८०.०७ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ७९.५ प्रतिशत थियो । समग्रमा, आर्थिक सर्वेक्षणले वित्तीय प्रणाली स्थिर रहे पनि कर्जा विस्तार सुस्त हुँदा केही चुनौती देखिएको र तरलता अधिक रहेको संकेत गरेको छ ।

Leave Your Comment

Related News